काठमाडौँ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने हुँदा दसैँमा वर्षा हुने जनाएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन–चार दिन वर्षाको सम्भावना रहेको बताइन् ।
हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले दसैँको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुने छ ।
उक्त समय देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।
दसैँको मौसम
मौसम बुलेटिनअनुसार नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।