नयाँदिल्ली- भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा उनको निधन भएको हो।
उनी १० अगस्टदेखि त्यहीं उपचाररत थिए। उनलाई व्यायामका क्रममा हृदयाघात भएको थियो। ट्रेडमिलमा दैनिक व्यायाम गर्नेक्रममा उनलाई हृदयाघात भएको थियो।
उनी स्ट्यान्डअप कमेडियनका रूपमा संसाभर विख्यात छन्। सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाट उनले ख्याति कमाएका थिए।
उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’लगायत फिल्ममा अभिनय गरेका छन्।
सन् १९८० को दशकदेखि नै उनी मनोरञ्जन उद्योगमा थिए। तर, ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’देखि शुरु भएको उनको लोकप्रियताको उचाइले कहिल्यै तल झर्नु परेन। खासगरी, गजोधर भैयाको उनको अभिनय प्रशस्त ख्याती कमाएको थियो। उनी आम भारतीयको जीवनका विभिन्न पहलुमार्फत कमेडी गर्ने गर्थे। उनकी पत्नी शिखा र दुई सन्तान छन्।