काठमाडौँ । अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रूपमा लिन थालेका छन् । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।
आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला ४५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा ३८० मेट्रिक टन अकबरे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले जानकारी दिए । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरू नगदबालीतर्फ आकर्षित बन्दै आएका छन् ।
थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले अकबरे खेती गर्दै आएको स्थानीय रमेश खड्काले बताए । जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खेतीको पकेट क्षेत्र हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छथर गाउँपालिकामा अकबरे पकेट क्षेत्रको रूपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ । स्थानीय बजारमा बिक्री हुने र राम्रो मूल्य हुँदा व्यापारीले घरैबाट लैजाने गरेकाले पनि कृषकहरू अकबरे खेतीतर्फ हौसिएका हुन् ।
यहाँका किसानले एक रोपनीदेखि पाँच रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। अकबरे गाउँको मुख्य बजार केन्द्रमा बिक्री हुने गरेको छ । व्यापारीले पूर्वी तराईका विभिन्न जिल्लामा निर्यात गर्दै आएका छन् ।
पहिलो सिजनमा ४०० रुपैयाँसम्म मूल्य पाएको अकबरे अहिले भने बजारमा १५० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुँदै आएको किसान बताउँछन् ।