भैरहवा- रुपन्देहीको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने साढे ५ महिनापछि बिदाइ भएका छन्। उनी प्रदेश सरकारको नियुक्तिबाट २३ फागुन ०७८ मा अस्पताल अध्यक्ष बनेका थिए।
अदालतमा मुद्दा चलिरहेको कारण कार्यकाल पूरा नगरी आफ्नो पद त्याग्नु परेको न्यौपानेले बताए। छोटो समयमै बिदाइ हुनु पर्दा अस्पतालमा आफूले सोचेजति परिवर्ततन ल्याउन असमर्थ भएको उनले बताए।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले पटक–पटक व्यक्ति परिवर्तन हुँदा काम गर्न असहज हुने बताइन्। तर, अस्पतालको व्यवस्थामा कुनै असर नपर्ने उल्लेख गरिन्।
अध्यक्ष न्यौपानेको छोटो कार्यकालमा अस्पतालमा धेरै सेवा सुविधा थपिएका छन्। बिहीबार नै अस्पतालमा नारायणप्रसाद भण्डारीले अध्यक्षको पद ग्रहण गरेका छन्।
नवनियुक्त अध्यक्ष भण्डारीलाई अस्पतालको विकास र प्रशासनिक पक्ष चुस्त दुरुस्त राख्न सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आग्रह गरिन्।
कोभिडको दोस्रो लहरमा अध्यक्षमा नियुक्त भई पदभार ग्रहण गरेकोे र त्यतिबेलादेखि नै अस्पताल कर्मचारी, प्रशासन र अन्य निकायहरूसँग सहकार्यमा काम गर्दै आएको अध्यक्ष भण्डारीले बताए।
प्रदेश सरकारले कार्यकाल पुरा नहुँदै पदमुक्त गरेको भन्दै सर्वोच्चमा रिट दिएका भण्डारीलाई गत १२ असारको सर्वोच्चको आदेशले पुनर्बहाली गरिदिएको थियो।