सुनेको थिएँ नेपाल
जलस्रोतको धनी देश हो-
साँच्चिकै हो रहेछ !
भरिएका छन्
जलस्रोतले गाउँ गाउँका भट्टी
शहरका मधुशाला
यही जलस्रोतले
उत्पादन गरेको छ देशमा
असी प्रतिशत गरिबी
नब्बे प्रतिशत कचकच
र, सय प्रतिशत हिंसा
यही जलस्रोतले बनाएको छ
बेरोजगारलाई रोजगार
रोजगारलाई बेरोजगार
घरघरमा डिस्टिलरी छन्
डिस्टिलरी घरघरमा छन्
जसको ठूलै योगदान छ
देशको कुल गार्हस्थ उत्पादनमा
हो, आज जानियो
कृषि नै रहेछ नेपालको मेरुदण्ड
किनकि, गरिब भनेकै किसान हुन्
यहाँ, किसान भनेकै गरिब हुन्
र त्यही किसानलाई
जलस्रोतको लतमा डुब्ने बनाएर
यो देशले कृषिमा क्रान्ति गरिरहेको छ ।
लागेका छन् राष्ट्रिय खोजकर्ताहरू
देशमा दुःखको तथ्यांक संकलन गरी
पक्का सूचकांक मापन गर्न, ताकि
यो जानियोस्
यत्तिको दुःख परेको मान्छे
कति पिउन सक्छ,
यत्तिको ऋण लागेको मान्छे
कति तिर्न सक्छ
कति उत्पादनले पुग्छ
तिनका नअघाउने पेटहरूको आयतन नाप्न
यो देशमा गणित पढाइन्छ !
कक्षा चारमै पढेको हुँ
नेपाल जलस्रोतको धनी देश
फलस्वरूप शुरु गरेको हुँ मैले
कक्षा पाँचदेखि नै
त्यही जलस्रोतले
शरीरका प्रत्येक शिराहरूमा
भयंकर बिजुली उत्पादन गर्न !
धनगढी उपमहानगरपालिका-१३ राजपुर, कैलाली