रुपन्देही – भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा जम्मा पाँच हजार ३०८.१ मेट्रिक टन (एक लाख ६ हजार १६२ बोरा) युरिया मल भित्रिएको छ ।
धान रोप्ने बेलामा मल नपाएर किसान मर्कामा परे पनि भैरहवामा भित्रिएको मलले यस क्षेत्रमा केही सहज भएको छ ।
धान रोप्ने सिजनमा डिएपी मल पनि नपाएका किसानले गहुँ छर्ने बेलामा भने पाउने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायण प्रसाद शर्माले बताए ।
गहुँ खेतीको लागि एक सताभित्र मल नेपाल आइपुग्ने प्रमुख शर्माको भनाइ छ ।
नेपाल सरकारले किशानको माग अनुसार रासायनिक मलको आपूर्ति गर्न नसक्दा किसानलाई खुला सीमावर्ती क्षेत्रबाट गैरकानुनी रुपमा मल भित्र्याउनु पर्ने अवस्था छ ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै जिल्ला र गण्डकी प्रदेशको कास्की र स्याङजा जिल्लामा मल पुर्याउनु पर्ने बाध्यता छ ।
कार्यालयले प्रदेशभरिका जिल्लामा कृषि सहकारीमार्फत मल बाँड्ने व्यवस्था गरेको छ ।
कृषि कम्पनीमा प्रयाप्त मल नभएका कारण मल वितरणमा समस्या आएको थियो तर त्यो समस्याको हल हुदै गएको कम्पनीले जनाएको छ ।
प्रदेशका पालिकामा रहेका हरेक कृषि सहकारीमा वितरणका लागि कम्पनीबाट मल जाने गर्छ ।