काठमाडौँ । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका १३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचय पत्र बनाएर हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो ।
पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जासहितको फोटो भएका परिचय पत्रसमेत कार्डहरू फेला परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।