काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् ।
तनहुँको भानु नगरपालिका १ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन् ।
जिल्लाको विकास र समृद्धिबाट जनताको जीवन स्तर उकास्नका लागि राजनीति गरेको बताउँदै नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताए ।
मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र १ बाटै उम्मेदवार बन्ने उनले बताए । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनको दाबी थियो ।
निर्वाचनको मिति तोकिएसँगै नेता पौडेलले गृह जिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाउँदै आएका छन् । उनी आजै भानु नगरपालिका ३ खहरे, भानु नगरपालिका ६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका ५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।