काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई ठण्डा दिमाग बनाएर निर्णय लिनु पर्ने बताएका छन्
उनले नागरिकता विधेयक संविधानको मर्म र भावनाअनुसार नभएकोसमेत दाबी गरे । उनले भने, ‘बाहिरबाट आउने नागरिकलाई सीधै नागरिकता दिने व्यवस्थाले पछि समस्या ल्याउँथ्यो, नागरिकता जस्तो विषय पटकपटक बदल्ने कुरा होइन ।’
यस्तै, उनले नेपालको जनसांख्यिक अतिक्रमणको ख्यान नगरी विधेयक ल्याएको बताए । ‘यो विद्येयकले नेपालको जनसांख्यिक अतिक्रमणको खतरालाई ख्याल नगरी ल्याइएको विधेयककै कारण झन् समस्या ल्याउँथ्यो,’ उनले भने, ‘नागरिकता विधेयकलाई लिएर आवश्यक विचार र विमर्शबिना कुनै पनि कदम चाल्नु गलत हुने छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर नागरिकता विधेयक आइतबार संसदमै फिर्ता गरिदिएकी छन् । नागरिकता विधेयकलाई गत १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।