काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेमा प्रवेश गर्न प्रस्ताव गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकबाटै एमालेमा प्रवेश गर्न बालेनलाई आग्रह गरेका हुन् ।
काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएको भन्दै उनले एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले एमालेमा आएर सहकार्य गरे काठमाडौँको फोहोर व्यवस्थापन हुने दाबी गरे ।
उनले फोहोरले काठमाडौँ गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीले कुनै पहल नगरेको बताए । ‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्रीहरु बेखबर छन्,’ उनले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती छैन, त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहान्नँ ।’
‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ, एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ,’ उनले भने, ‘यदि, तपाईं सरकारको भर पर्नु भयो भने तपाई असफल हुने निश्चित छ, काठमाडौँको बर्बादी हुनेछ ।’