भैरहवा । गत चैत १५ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरिप्रसाद अधिकारीले वडा नं ६ को वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेकाका थिए । उद्घाटन भएको झण्डै पाँच महिना बित्न लाग्दासमेत पुरानै वडा कार्यालयबाट काम भइरहेको छ ।
सिद्धार्थनगर ६ स्थित पिपरहियामा निर्माण गरी उद्घाटन भइसकेको कार्यालयबाट अझैसम्म वडाबासीले सेवा लिन पाएका छैनन् । आफ्नै वडाबाट पाउनु पर्ने सेवाका लागि वडाबासी सिद्धार्थनगर ५ स्थित पुरानै वडा कार्यालय जान बाध्य छन् ।
निर्वाचनको बेला जस लिने होडमा निर्माण सम्पन्न नहुँदै कार्यालय उद्घाटन गरिएको थियो । जसले गर्दा उद्घाटन भएको महिनौँ बित्दा पनि कार्यालय सर्न सकेको छैन । नवनिर्वाचित जनप्रतिनिधिले पुरानै वडा कार्यालयमा पदभार ग्रहण गर्दै त्यहीबाट कार्य सम्पादन गरिरहेका छन् ।
स्थानीय विवेकानन्द मल्लिक निर्वाचनको मुखमा हतारमा वडा कार्यालय उद्घाटन गरिए पनि अहिलेसम्म उक्त कार्यालयबाट सेवाग्राहीले सेवा पाउन नसक्नु स्थानीयका लागि दुःखको कुरा रहेको बताउँछन् । उनी भन्छन्, ‘ जनप्रतिनिधि भोट माग्ने बेला यो गर्छु त्यो गर्छु, वडालाई विकशित गराउँछु भन्दै कैयौँ बाचा गर्छन्, तर त्यही जनप्रतिनिधि जितेर सत्तामा आउना साथ सबै बाँचा भुलेर भ्रष्टचारमा होम्मिन्छन् ।’
रामदयाल गुप्ताले चैत १५ गते नै उद्घाटन भएको वडा कार्यालयबाट अझैसम्म सेवाग्राहीले सेवा नपाउनुमा राजनीतिक खेल भएको बताउँछन् । सिद्धार्थनगर नगरपालिका ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले कार्यालय उद्घाटनको समयमा केही प्रतिशत काम बाँकी रहेकाले नयाँ भवनको उद्घाटन भए पनि काम पुरानै कार्यालयबाट गर्नु परेको बताए । उनी भन्छन्, ‘भवन नसर्नुका कारण ठेकेदारले काम मा ढिलाइ गर्नु हो ।’
हाल झण्डै ५ महिना हुन लाग्दा भवन निमार्णको काम सम्पन्न हुन सकेको छैन । भवनमा अझै रङ रोगनको काम र स्वास्थ्य कार्यालय फिनिसिङको काम बाँकी छ ।