शपथ ग्रहणको तयारीसँगै
म हिँडेको थिएँ नैतिकताको खोजीमा
Advertisement
पुगें कैलालीका फाँटमा
बर्दियाका जंगलमा
कर्णालीका कुना कन्दरामा
कहीं भेटिएन नैतिकता
थाकी हारी काठमाडौंका
गल्लीमा भौंतारिँदै थिएँ
मेरो नजर रत्नपार्कको
फोहोरको डुंगुरमा फरफर गर्दै गरेको
कागजमा पर्यो
नैतिकताले छोडेर गएको सूचना रहेछ
नैतिकता त देशाटनमा गएछ
नयाँ मित्र खोज्न
आफ्ना इष्टमित्र भेट्न
नैतिकताले भन्यो
म रनभुल्लमा परें
आफूलाई आफैं बुझ्न नसक्ने भएँ,
म त लागें
नैतिकताका नयाँ
परिभाषाका बारेमा बुझ्न
यदि आवश्यक पर्यो भने
क्र्यास कोर्स पनि लिन,
नयाँ सोच नयाँ
विचारसहित फर्केर आउने छु,
बाँकी थपथाप हाम्रा
राजनेताहरूसँग सिक्ने छु,
आफूले आफूलाई
नयाँ सोचमा ढाल्ने छु
नैतिकताको नयाँ परिभाषाबारे
देशवासीलाई अवगत गराउने छु