काठमाडौँ । सांसदहरूले आज दिउँसो भक्तपुरमा भएको दुर्घटनाबारे आवाज उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भक्तपुरको सल्लाघारीमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Advertisement
सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी भएको बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले यस्ता घटना अन्य क्षेत्रमा हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे । उनले पुराना बस हटाउन सरकारसँग माग गरे ।
दुर्घटनामा तीन जनाको मृत्यु हुँदा १२ जना घाइते भएका छन् ।