वासिङ्टन- भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्स संकटमा परेको छ। अप्रिलदेखि जुलाईबीचमा करिब १० लाख ग्राहकले यो प्लेटफर्म छाडिदिएका छन्।
यसबीचमा सबैभन्दा बढी अमेरिका र क्यानाडाका नागरिकले नेटफ्लिक्स छाडेका छन्। युरोपेली मुलुकका ग्राहकले पनि यो प्लेटफर्म छाडेका छन्। कम्पनीको इतिहासमै यति धेरै ग्राहकले प्लेटफर्म छाडेको यो पहिलो घटना हो।
खासगरी, कोभिड–१९ महामारीका बेलामा नेटफ्लिक्सको व्यापार ह्वात्तै बढेको थियो। भिडियो स्ट्रिमिङमा महामारीका बेला ठूलो क्रान्ति आएको अर्थ पनि लगाइएको थियो।
महामारीबाट संसारले पार पाउँदै गर्दा नेटफ्लिक्सले भने संकटको सामना गर्नुपर्ने भएको छ। नेटफ्लिक्सका कारण सिनेमा घरहरू, टेलिभिजन च्यानलले चुनौती सामना गर्नुपरेको थियो। तर, पछिल्ला दिनमा एप्पल टीभी, एचबीओ म्याक्स, अमेजन प्राइम र डिज्नी प्लसजस्ता नयाँ प्लेटफर्मको चुनौती पनि थपिएको थियो, नेटफ्लिक्सलाई।
तर, कम्पनीले संकटको सामना गर्नुको मुख्य कारण पछिल्ला दिनमा बढाएको मूल्य देखिएको छ। मूल्य बढाएर नाफा कमाउने नेटफ्लिक्सको उद्देश्यले उल्टै ‘ब्याक फायर’ गरेको छ।
अमेरिकामा डिभाइसमा एकसाथ नेटफ्लिक्स चलाउने अफर सन् २०१९ मा ११ डलर थियो। जनवरी २०२२ मा आएर १४ डलर र १५.४९ डलर कायम गरेको थियो, नेटफ्लिक्सले।
ब्रिटेनमा पनि नेटफ्लिक्सले बेसिक र स्ट्यान्डर्ड प्लानको मूल्य बढाएको छ। अब मासिक बेसिक प्लान ६.९९ र स्ट्यान्डर्ड प्लान १०.९९ युरो बनाइएको छ।
जुन २०२२ को अन्तिमसम्म नेटफ्लिक्सका करिब २२ करोड सब्स्क्राइबर थिए। सन् २०२२ को हालसम्म नेटफ्लिक्सको सेयर मूल्यमा पनि ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ। किनकि, लगानीकर्ताले कम्पनीको भविष्यलाई लिएर संशय व्यक्त गर्दै आएका छन्।