काठमाडौं– श्रीलंका कुनै समय एसियाकै समृद्ध र खुशी मुलुक मानिन्थ्यो । तर, आफ्नो स्वतन्त्रतायताकै सर्वाधिक संकटमा छ, यो टापु देश । आर्थिकसँगै राजनीतिक संकटमा जेलिएको श्रीलंकासामु यसबाट बाहिर निस्किने कुनै मार्ग फेला परेको छैन ।
तथापि, श्रीलंकाको जस्तो संकटमा ऊ एक्लो छैन । अन्य १३ वटा मुलुक पनि आर्थिक रूपमा टाट पल्टिने बाटोमा देखिएका छन् । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना यसअघि नै दुईपटक टाट पल्टिसकेको छ । सन् २०१२ मा ग्रिस, सन् १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडोर पनि टाट पल्टिएका थिए । अहिले श्रीलंकाबाहेक लेबनान, रुस, सुरिनाम र जाम्बिया पनि अन्तर्राष्ट्रिय ऋण तिर्न नसक्ने मुलुकको सूचीमा चढेका छन् । बेलारुस र म्यानमार पनि त्यही बाटोमा छन् ।
म्यानमार
म्यानमारका सञ्चार माध्यमहरूका अनुसार विदेश मुद्रा भण्डार नियन्त्रणमा राख्नका लागि त्यहाँको केन्द्रीय बैंकले स्थानीय कम्पनी र बैंकहरूलाई आदेश दिएको छ । त्यस आदेशको अर्थ हो, विदेशी ऋणको भुक्तानी रोक्ने या धेरै ढिलो गरी भुक्तानी गर्ने ।
समाचार एजेन्सी रोयटर्सका अनुसार म्यानमारको केन्द्रीय बैंकले १३ जुलाईमा आदेश जारी गर्दै बैंकहरूलाई उक्त निर्देशन दिएको हो । म्यानमारको मुद्रा क्याट इतिहासमै सर्वाधिक कमजोर बनेको छ । त्यसका कारण दैनिक उपभोग्य वस्तु र इन्धनको मूल्य आकाशिएको छ । गत वर्ष सेनाले म्यानमारमा सत्ता हत्याएको थिषे । त्यसबाट राजनीतिक र आर्थिक सुधारमा ब्रेक लागेको छ ।
म्यानमारको मुद्रा एक डलरको तुलनामा १८५० कायम भएको छ । अनौपचारिक ब्ल्याक मार्केटमा क्याट अझ कमजोर बनेको छ ।
पाकिस्तान
दक्षिण एसियाली मुलुक पाकिस्तान पनि चरम आर्थिक संकटमा छ । आर्थिक संकटबाट बाहिर निस्किन पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ऋण दिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको छ । सोही कारण आर्थिक संकट गहिरिएको हो ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ९.८ अर्ब डलरमा खुम्चिएको छ, जो पाँच साताको मात्र आयात धान्न सक्षम छ । पाकिस्तानी रुपैयाँ पनि एक डलरको २१० पुगेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सरकारी खर्चमा व्यापक कटौति गरिने बताएका छन् । र, कुल राजस्वको ४० प्रतिशत मात्र विदेशी व्याज भुक्तानी गरिने घोषणा गरेका छन् ।
अर्जेन्टिना
अर्जेन्टिनाको मुद्रा पेसो अनौपचारिक बजारमा ५० प्रतिशत छुटका साथ कारोबारमा छ । देशको विदेशी मुद्रा सञ्चिति कमजोर छ । सरकारसँग सन् २०२४ सम्म चलाउन पनि पर्याप्त ऋण उपलब्ध छैन । उपराष्ट्रपति क्रिस्टिना फर्नान्डिज डी किर्चरले आईएमएफसँग फेरि ऋणको प्रक्रिया शुरु गर्ने बताएकी छन् ।
अर्जेन्टिनाले सन् २००१ मा ऋणदाताको ऋण तिर्न अस्वीकार गरेको थियो । त्यतिबेला यो ल्याटिन अमेरिकी मुलुकसँग विदेशी ऋणको भारी थियो । चरम बेरोजगारीका कारण मानिस सडकमा उत्रेर हिंस्रक प्रदर्शन गरिरहेका थिए । त्यतिबेला अर्जेन्टिनामा जे भइरहेको थियो, अन्तर्राष्ट्रिय दातृ निकाय र मुलुकका लागि दुःस्वप्नजस्तै थियो ।
युक्रेन
गत फेब्रुअरीमा रुसले आक्रमण थालेयता युक्रेन सर्वाधिक कठिन समयबाट गुज्रिरहेको छ । मोर्गन स्ट्यान्ली र अमुन्डीजस्ता ठूला लगानीकर्ताले युक्रेनलाई २० अर्ब डलरभन्दा बढी ऋण पुनर्गठनका लागि आग्रह गरेका छन् ।
आगामी सेप्टेम्बर युक्रेनका लागि अझ संकटको महिना बन्दैछ । त्यतिबेला १.२ अर्ब अमेरिकी डलर बराबरको बोन्ड युक्रेनले भुक्तानी गर्नुपर्नेछ । तथापि, विदेशी सहायता र विदेशी मुद्रा सञ्चितिका कारण उक्त बोन्ड युक्रेनले भुक्तानी गर्न पनि सक्छ ।
ट्युनिसिया
आईएमएफबाट ऋण लिने अफ्रिकी मुलुकका अलग–अलग समूह छन् । तर, ट्युनिसिया सर्वाधिक जोखिममा छ । ट्युनिसियाको बजेट घाटा करिब १० प्रतिशत छ । ट्युनिसिया मोर्गन स्ट्यान्लीको सम्भावित खराब ऋणीको सूचीमा तेस्रो नम्बरमा छ ।
घाना
अफ्रिकी मुलुक घाना पनि कठिन आर्थिक संकटमा छ । घानाको विदेशी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ८५ प्रतिशतसम्म बढेको छ । घानाको मुद्रा सेडीले यस वर्ष करिब एक चौथाइ हिस्सा गुमाएको छ । घानाले आफ्नो राजस्वको आधाभन्दा बढी हिस्सा विदेशी ऋण भुक्तानीमा खर्च गर्दै आएको छ । र, महँगी ३० प्रतिशतको नजिक पुगिसकेको छ ।
इजिप्ट
इजिप्टमा जीडीपीको अनुपातमा ऋण करिब ९५ प्रतिशत छ । फन्ड फर्म एफआईएम पार्टनर्सको अनुमानअनुसार इजिप्टले आगामी पाँच वर्षभित्रमा एक सय अर्ब डलर तिर्नुपर्नेछ । सन् २०२४ मा १.३ अर्ब डलर बोन्ड भुक्तानी गर्नुपर्नेछ, इजिप्टले ।
इजिप्टको मुद्रा १५ प्रतिशतसम्म अवमूल्यन भएको छ । गत मार्चमा इजिप्टले आईएमएफसँग सहायता मागेको थियो । अब बोन्ड स्प्रेड १२ सय आधार अंकभन्दा बढी भएको छ ।
केन्या
केन्याले आफ्नो राजस्वको ३० प्रतिशत ब्याज भुक्तानीमा खर्च गर्छ । यसको ऋणपत्रहरुको मूल्य झन्डै आधा गुमेको छ । र, हाल पुँजी बजारमा पहुँच छैन ।
केन्या, इजिप्ट, ट्युनिसिया र घानालगायतका देशहरू सबैभन्दा कठिन अवस्थामा रहेका छन् । ऋण सञ्चितिभन्दा बढी छ र देशलाई ऋण सन्तुलनको हिसाबले देश चलाउन चुनौतीपूर्ण छ ।
इथियोपिया
इथियोपियाले जी२० साझा फ्रेमवर्क कार्यक्रम अन्तर्गत ऋण राहत पाउन सक्छ । यस योजना अन्तर्गत राहत पाउने इथियोपिया पहिलो देश हुनेछ । मुलुकमा जारी गृहयुद्धले विकास ठप्प भएको छ ।
अल साल्वाडोर
यस देशले बिटक्वाइनलाई कानुनी रुपमा मुद्राको रूपमा मान्यता दिएको थियो । क्रिप्टोकरेन्सीले विगत केही महिनाहरुमा उल्लेखनीय गिरावट देखेको छ । जसकारण एल साल्भाडोर पीडित छ ।
पछिल्लो ९ महिनामा यहाँको सरकारले बिटक्वाइनमा करोडौं डलर लगानी गरेको छ । यो देशका लागि आईएमएफको ढोका बन्द छ । पछिल्लो ६ महिनामा ८० करोड डलरको बन्ड ३० प्रतिशत छुटमा व्यापार भइरहेको छ ।
बेलारुस
पश्चिमी देशहरुको प्रतिबन्धका कारण गत महिना रुसले आर्थिक क्षति व्यहोर्नु प¥यो ।
रुसले २७ मे मा १० करोड डलर भुक्तानी गर्नुपर्ने थियो, तर भुक्तान गर्न सकेन । त्यसपछि ३० दिन थप समय दिइएको थियो तर रुसले यो मितिमा पनि भुक्तानी गर्न सकेन । त्यसपछि रुसलाई डिफल्टर घोषणा गरियो । युक्रेनसँगको युद्धमा बेलारुस रुसको साथमा छ । बेलारुसले आर्थिक मोर्चामा पनि कठिनाइहरुको सामना गरिरहेको छ ।
इक्वेडोर
ऋण तिर्न दुई वर्षअघि यो देश चुक्यो । देशका लाखौं जनताले राष्ट्रपति गुइलेर्मो लासोको विरोध गरिरहेका छन् । जसले देशलाई थप आर्थिक संकटमा पुर्याएको छ ।
इक्वेडोर सरकारको ठूलो ऋण छ । जेपी मोर्गनले सार्वजनिक क्षेत्रको वित्तीय घाटा यस वर्ष जीडीपीको २.४ प्रतिशत र अर्को वर्ष २.१ प्रतिशत पु¥याउने प्रक्षेपण गरेका छन् ।
नाइजेरिया
यसले ऋणको ब्याज तिर्न राजस्वको ३० प्रतिशत खर्च गर्छ । संयुक्त राष्ट्र मानवीय सहायता कार्यकर्ताहरुले उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसहरुको अवस्था बिग्रँदै गएको चेतावनी दिएका छन् ।
यो क्षेत्र सशस्त्र द्वन्द्वको चपेटामा परेको छ । नाइजेरिया एक तेल उत्पादक देश हो तर त्यहाँ तेल प्रशोधन गर्ने कारखानाको अभाव छ । जसकारण नाइजेरियाले पनि तेल आयातमा निर्भर रहनुपर्छ ।