कोलम्बो- सरकार विरोधी प्रदर्शन सामना गर्न नसकी देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अझै राजीनामा पठाएका छैनन्।
उनी सैन्य जहाजबाट माल्दिभ्सको राजधानी माले पुगेका छन्। त्यहाँबाट सिंगापुर जाने तयारीमा छन्।
उनले १३ जुलाईमा राजीनामा पठाउने बताएका थिए। तर, त्यसको २४ घण्टा बितिसक्दा पनि पदबाट राजीनामा दिएका छैनन्।
श्रीलंकाको संविधानअनुसार राजापाक्षेले देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघे स्वतः कार्यवाहक राष्ट्रपति बनेका छन्। र, उनले सेना र प्रहरीलाई देशको अवस्था सम्हाल्न आदेश दिएका छन्।
बुधबार राति टेलिभिजनबाट सम्बोधन गर्दै बिक्रमासिंघेले प्रदर्शनकारीहरूलाई राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय छाड्न अपील गरेका छन्। ‘हामी संविधानको धज्जी उडाउन सक्दैनौं, हामी फासीवादीहरूलाई देश सुम्पिन सक्दैनौं। लोकतन्त्रमाथि उत्पन्न यस फासीवादी खतरालाई हामीले अन्त्य गर्नैपर्छ,’ उनले भने।