काठमाडौँ । टिपरभित्रै एक महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका ७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय किशोरीलाई बलात्कार गर्ने दोलखा गौरीशंकर गाउँपालिका ८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र बलात्कार गरेको खुल्न आएको जानकारी दिए ।
दोलखाबाट काठमाडौँ आएको उक्त टिपरले गौशालाबाट ती किशोरीलाई टिपरमा हालेर थानकोट ल्याएका थिए । थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको थियो ।
पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।