काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर कार्यकर्तासँग भेट गरेका छन् ।
पार्टीले हालै सार्वजनिक गरेको कार्य योजनाअनुसार आजदेखि पार्टीबाट मन्त्री भएकाहरूले पालैपालो कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नेता तथा कार्यकर्तालाई समय दिएका हुन् । भेटघाटमा २ दर्जन बढी नेता कार्यकर्ताले भेटघाट गरी आफ्ना कुरा राखेका थिए ।
नेकपा एसबाट मन्त्री भएका नेताहरूले साताको एक दिन पार्टी कार्यालयमा नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रमा सहभागी हुनु पर्ने कार्य योजना बनेपछि पहिलोपटक स्वास्थ्य मन्त्री खापुङले भेटघाट गरेका हुन् ।
मन्त्रीहरूलाई साताको १ दिन पार्टी कार्यालयमा गएर जनसरोकारका विषयमा छलफल अन्तक्रिया र गुनासो सुन्नु पर्ने गरी कार्य योजना तयार भएको छ । जसअनुसार मन्त्रीहरुले पालो गरेर शनिबारबाहेक प्रत्येक दिनको २ देखि ३ बजेसम्म पार्टी कार्यालयमै कार्यकर्तासँग भेटघाट गर्नु पर्ने कार्य योजना सार्वजनिक गरिएको छ ।
जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ सोमबार, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार, सहरी विकासमन्त्री मेटमणि चौधरीलाई बुधबार पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ ।