काठमाडौँ । चालु आर्थिक वर्षको बजेट खर्च भोलिदेखि रोकिने भएको छ । खर्च रोकिने भएपछि अन्तिम दिन आज ठूलो मात्रामा भुक्तानी भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषको रकम भुक्तानीमा बाहिरिएको छ । आज मात्र चालु खर्चतर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
चालु आर्थिक वर्षका लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको सरकारले १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम कूल बजेटको ८५.८ प्रतिशत हो ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ कूल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको सरकारले असार २६ गतेसम्म जम्मा एक खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) अनुसार सरकारी कार्यालयबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिनपहिले नै सम्पूर्ण खर्च रोक्नु पर्ने व्यवस्था छ ।