काठमाडौं । अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय भएको छ ।
गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो ।
सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए । केली जुलाई २०१९ देखि जेलमा छन् । अभियोजकले उनलाई आजीवन कारावासको माग गरेका थिए । उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको दाबी गरेका थिए ।
केलीका वकिलले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन् । केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो ।
त्यो समयमा प्रमाण पत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो । पछि उनीहरूको विवाह रद्द गरिएको थियो । नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु हुन पुग्यो ।
इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोपबाहेक उनी अहिले शिकागोमा चाइल्ड पोर्नोग्राफीलगायत विभिन्न आरोपको सामना गरिरहेका छन् ।