नयाँदिल्ली- भारतलाई बेलायतको गुलाम बुझाउने गरी भारतीय वायु यानमा राखिएको कल साइन हटाउन अदालतमा मुद्दा परेको छ।
भारतीय जहाज र हेलिकोप्टरको कल साइन ‘भीटी’बाट शुरु हुन्छ, जसको अर्थ हुन्छ ‘भिक्टोरियन टेरिटोरी’, ‘भाइसराय टेरिटोरी’।
भारतमा लामो समय शासन गरेका अंग्रेजहरूले भारतमा उड्ने वायु यानमा ‘भीटी’ कलसाइन प्रयोग गरेका थिए। भारत अंग्रेजको पञ्जाबाट मुक्त भएको पनि ७५ वर्ष बितिसक्यो। तर, अंग्रेजको गुलाम बुझाउने ‘भीटी’ कल साइन जहाजहरूमा कायमै छ।
दिल्ली हाइकोर्टमा दायर रिटमा उक्त कल साइन हटाउन आदेश माग गरिएको छ। रिट दायर गर्ने भाजपा नेता तथा वकिल अश्विनी कुमारका अनुसार बेलायती शासकहरूले उक्त कल साइन सन् १९२९ भन्दा अगाडिदेखि प्रयोग गरेको पाइन्छ।
स्वतन्त्रताको ७५ वर्षपछि पनि बेलायती शासन स्वीकारेको कोड प्रयोग गर्नु नागरिकको गरिमा र देशको सार्वभौमसत्ता विपरीत रहेको रिटमा उल्लेख छ।