नयाँदिल्ली- भारतमा विपक्षी गठबन्धनका तर्फबाट पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हा राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्।
इन्डियन नेसनल कंग्रेसका नेता जयराम रमेशका अनुसार विपक्षी दलहरूले सर्वसम्मतीबाट सिन्हालाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका छन्।
शरद पवार, फारुक अब्दुल्ला र गोपालकृष्ण गान्धीले राष्ट्रपति उम्मेदवार बन्न अस्वीकार गरेपछि विपक्षी दलहरूले सिन्हालाई उठाउने निर्णय गरेका हुन्।
यशवन्त सिन्हाले पनि ट्विट गर्दै राष्ट्रपति उम्मेदवार बन्न आफू तयार रहेको संकेत गरेका छन्। आफूलाई तृणमुल कंग्रेसकी अध्यक्ष तथा पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले राष्ट्रपति उम्मेदवारका रूपमा स्वीकारेकामा सिन्हाले आभार प्रकट गरेका छन्।
‘म ममताजी प्रति आभारी छु, जसले मलाई सम्मान र प्रतिष्ठा दिएकी छन्। अब त्यो समय आएको छ, एउटा ठूलो राष्ट्रिय उद्देश्यका लागि मलाई पार्टीभन्दा माथि उठेर विपक्षी एकताका लागि काम गर्नुपर्नेछ। मलाई यकिन छ, ममताले यो कदम स्वीकार गर्ने छिन्,’ सिन्हाले लेखेका छन्।
उनको ट्विट राष्ट्रपति उम्मेदवारका लागि १७ वटा विपक्षी दलहरू बैठकमा भएको समयमा आएको थियो। पवार, अब्दुल्ला र गान्धीले आफूहरूको प्रस्ताव अस्वीकार गरेपछि बिलखबन्दमा परेका विपक्षी दलहरूले सिन्हाको नाममा तत्काल सहमति गरेका थिए।
भारतमा नयाँ राष्ट्रपतिका लागि १५ जुनमा चुनावी प्रक्रिया शुरु भइसकेको छ। २९ जुनसम्म उम्मेदवारी दिने मिति तोकिएको छ। १८ जुलाईमा मतदान र २१ जुलाईमा मतगणना गर्ने तय भइसकेको छ।