काठमाडौँ । दुई जनासँग साढे तीन करोड रुपैयाँ ठगी गरेको आरोपाम ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ८ का केशवप्रसाद अधिकारी छन् । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयर धनीलाई तीन करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
कन्सल्टेन्सीका पूर्वसञ्चालक अधिकारीले काठमाडौँ महानगर ३२ स्थित अर्बिट इन्टरनेसनलको सेयर नुवाकोटका श्री बहादुर तामाङलाई थाहै नदिई साढे तीन करोडमा बेचेका थिए ।
व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको प्रहरीले जनाएको छ ।
सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।
सो कम्पनीको सेयर किनेका पाण्डेले उक्त कन्सल्टेन्सी यसअघि बिक्री भइसकेको आफूलाई जानकारी नभएको दाबी गरेका छन् । उनी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डका छोरा हुन् ।
हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि अधिकारीलाई सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।
यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटसमेत ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।