काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोली अहिले एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोट चरणको खेल खेलिरहेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले शनिबार राति आफ्नो दोस्रो खेल खेल्यो । कुवेत सिटीमा भएको खेलमा नेपाल घरेलु टिम कुवेतसँग ४–१ गोलले पराजित हुन पुग्यो ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफ सुरू हुनासाथ दोस्रो गोल खायो । त्यति नै बेला नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढलेका थिए ।
बेहोस भएका अलुताइरीलाई मैदानमै अक्सिजन दिएर तत्काल अस्पताल लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
अहिले अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य भएको एन्फाले जनाएको छ । उनी अस्पतालबाट डिस्चार्जसमेत भइसकेका छन् । खेलपछि नेपाल पराजय भएको उनले माफी मागेका छन् ।
यसअघि राष्ट्रिय टिमबाट १० जना सिनियर खेलाडीले टिम छाडेका थिए । अलमुताइरीसँग विवाद भएसँगै उनीहरूले टिम छाडेका थिए ।
अलमुताइरी कुवेतका नागरिक हुन् । कुवेतमै भएको खेलमा बेहोस भएका अलमुताइरीको स्वास्थ्यको विषयमा कुवेतको फुटबल संघले चासो देखाएको छ ।