रुपन्देही । जिल्लाको रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । घटनामा ९ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतक चार जनाको परिचय खुल्न सकेको छैन । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको थियो ।
यस्तै, भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतिया ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् ।
यसैगरी भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्मा पनि रहेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डस्थित पुलबाट खसेको थियो ।