आज सिथि नखः। धारा, इनार, कुवा र पाटीपौवा सरसफाइ गरेर मनाइँदैछ।
हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिथि नखःको शुभकामना दिँदै काठमाडौं उपत्यका मन्दिरहरूको मात्र नभई पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको शहर पनि भएको उल्लेख गरेका छन्। ‘यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्त्व छ,’ उनले भनेका छन्।
उनका अनुसार सिथि नखः पर्वको दिन भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौं जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ। नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले पनि कुमार कार्तिकेयलाई जनाउँछ।