काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगर २६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताएका हुन् ।
‘ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्ने छ,’ उनले भने । दोस्रोपटक पुनः वडाध्यक्ष निर्वाचित भएका तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको बताउँदै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधान गर्ने बताए ।
अघिल्लो कार्यकालमा वडा कार्यालय भवन, लैनचौर खेल मैदान, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनः निर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनः निर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनको भनाइ थियो ।
मेलम्ची खानेपानी आयोजना र विद्युत् प्राधिकरणको कामले कतिपय बाटो कालोपत्र रोकिएको भन्दै यसलाई चाँडो सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताए । वडाध्यक्ष तिवारीसँगै वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ, शान्ता प्रजापति महर्जन र रुपा नेपालीले पनि वडा कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरेका थिए ।
काठमाडौँ महानगरपालिका २६ मा ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँ बसपार्क, गोँगबु, टाउन प्लानिङ, रानीबारीलगायत क्षेत्रहरू पर्दछन् ।