काठमाडौं- आज १७ नोभेम्बर। विश्व इतिहासका यस्ता घटना, जसले आजको दिन स्मरण गराउँछन्। केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८६९- स्वेज नहर निर्माण सम्पन्न
रेड सी र भूमध्यसागर जोड्ने स्वेज नहरको निर्माण आजकै दिन सम्पन्न भएको थियो। यो नहर १९३ किलोमिटर लामो छ। यसको निर्माण सम्पन्न गर्न १० वर्ष लागेको थियो। र, पानीजहाजहरूको आवतजावत खुला गरिएको थियो। उक्त नहर निर्माणपछि युरोप र एसियाबीच अफ्रिकाको सीमामा नपुगी सीधा पानीजहाजहरूको आउजाउ सहज बनेको थियो।
– सन् १९७३- एथेन्सको पोलिटेक्निक विद्रोह अन्त्य
जर्जियोस पापाडोपोलोसको नेतृत्वमा सैनिक सरकारविरुद्ध ग्रिसको राजधानी एथेन्समा १४ नोभेम्बरदेखि प्रदर्शन शुरु भएको थियो। सैन्य सरकारविरुद्ध पोलिटेक्निकका छात्रछात्राले प्रदर्शन शुरु गरेका थिए। १७ नोभेम्बर बिहानै ट्यांकसहित कलेज परिसरमा प्रवेश गरेको सेनाले विरोध प्रदर्शन दमन गर्यो। कलेज परिसरमा कोही हताहत भएको सूचना आएन। तर, कलेज बाहिर धेरै मानिस मारिएको बताइएको थियो। उक्त विद्रोहको स्मृतिमा एथेन्सका सबै विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने प्रचलन छ।
– सन् १९८९- भेल्भेट क्रान्ति शुरु
बर्लिनको पर्खाल ढलेको एक सातापछि प्रागमा अन्तर्राष्ट्रीय छात्र दिवस मनाउने क्रममा दंगा भड्कियो। र, प्रहरीले हिंस्रक ढंगले त्यसलाई नियन्त्रणमा लियो। त्यसपछि हालको चेक गणतन्त्रमा व्यापक हडताल र शान्तिपूर्ण प्रदर्शन भए। ती प्रदर्शन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन चेकोस्लोभाकियाको कम्युनिस्ट शासन अन्त्य भयो। र, ४१ वर्षपछि त्यहाँ लोकतान्त्रिक चुनावका लागि मार्गप्रशस्त भयो। त्यसैलाई भेल्भेट क्रान्तिको संज्ञा दिइएको हो।
– सन् २००३- अभिनेता आर्नोल्ड क्यालिफोर्नियाका गभर्नर नियुक्त
हलिउड अभिनेता तथा बडी बिल्डर आर्नोल्ड स्वेर्जेनेगरले आजकै दिन अमेरिकाको क्यालिफोर्निया राज्यको गभर्नरको सपथ लिएका थिए। साइन्स फिक्सन सिनेमामा साइबर्गको भूमिकाबाट चर्चामा आएका उनलाई टर्मिनेटरको भूमिकाले पनि उचाइ दिएको थियो। उनले तत्कालीन गभर्नर ग्रे डेभिसलाई प्रतिस्थापन गरेका थिए। उनी सन् २००७ मा पनि क्यालिफोर्नियाका गभर्नर निर्वाचित भएका थिए।
– सन् २०१३- बोइङ-७३७ दुर्घटनामा मारिए ५०
सन् २०१३ मा आजकै दिन भएको बोइङ-७३७ विमान दुर्घटनामा ५० जनाले ज्यान गुमाएका थिए। रुसको कजान क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको थियो। ततार्स्तान एयरलाइन्सको उक्त विमान कजान अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। विमानमा ४४ यात्री र चालक दलका ६ सदस्य सवार थिए। सबै मारिएका थिए।
– सन् २०२१- ड्रग ओभरडोजबाट १ लाख अमेरिकीको मृत्यु
सन् २०२१ मा आजकै दिन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले एक रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा अप्रिल २०२० देखि अप्रिल २०२१ को वर्षदिनमा अमेरिकामा १ लाख मानिसले लागूऔषधको ओभरडोजका कारण मृत्युवरण गरेको उल्लेख थियो। यसलाई अमेरिकामा लागूऔषध सेवनकर्ताको भयावह अवस्थाका रूपमा व्याख्या गरिएको थियो।
– सन् २०२२- बाई-बाई न्यान्सी !
अमेरिकाकी पहिलो महिला सभामुख तथा विवादास्पद नेतृ न्यान्सी पेलोसीले आजकै दिन पदबाट बाहिरिने घोषणा गरेकी थिइन्। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका मनपरीमाथि अंकुश लगाएर चर्चामा आएकी उनले एसियाको भूराजनीतिमा खेल्न खोजेर विवादमा परेकी थिइन्। खासगरी, चीनको प्रान्त ताइवानलाई अलग देशको मान्यता दिएर उनले अमेरिकी सरकारले लामो समयदेखि मौन समर्थन जनाएको एक चीन नीतिमाथि धावा बोलेकी थिइन्।
– सन् २०२३- धर्तिकै गर्मी दिन
सन् २०२३ मा आजको दिन पृथ्वीकै गर्मी दिनका रूपमा मानिएको थियो। युरोपियन युनियनको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार आज विश्वव्यापी तापमानमा पूर्व-औद्योगिक कालभन्दा पछि २ डिग्री सेल्सियस बढेको पाइएको थियो।