संयुक्त राष्ट्र संघको हलमा
हातमा मोबाइल तेर्स्याएर
ताली र ठूलो हल्ला गर्ने
एउटा टोली देखेर
नेतान्याहुको सातो गएछ !
महासचिवतिर फर्केर सोधेछन्,
महामहिम, यी कुन देशका हुन् ?
भाषण कम
हल्ला र भिडियो धेरै बनाउने !
महासचिव मुसुक्क हाँसे,
यी नेपाल भन्ने देशबाट आएका
र, केही त ल्याइएका उत्साही टोली हुन् !
त्यति सुन्नासाथ उनले
आफ्नो टोलीलाई झपारे
तिमीहरू कस्ता फिका मान्छे
न ताली, न नाराबाजी,
न सेल्फी, न लाइभ !
आजैदेखि निर्णय गरें-
तिमीहरू बिदा
यी टोली भर्ती !
अब जहाँ-जहाँ मेरो भाषण हुन्छ,
यी अगाडिको लहरमा बस्नेछन्,
एक हातले मोबाइल समात्ने,
अर्को हातले प्रशस्ती गाउनेछन्
अन्त्यमा मुस्कुराउँदै भनेछन्-
र, यदि सबै ठीकठाक चल्यो भने,
पशुपतिनाथले पनि
पक्कै मेरो कल्याण गर्नेछन् !