काठमाडौं- आज ३० सेप्टेम्बर। विश्व इतिहासका विभिन्न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९४९- बर्लिन एयरलिफ्टको अन्त्य
जर्मनीको बर्लिनमा १५ महिनादेखि जारी एयरलिफ्टिङ आपूर्ति आजकै दिन अन्त्य भएको थियो। अमेरिकी सेनाको नेतृत्वमा उक्त नाकाबन्दी अन्त्य भएको थियो। बर्लिन नाकाबन्दी एक अन्तर्राष्ट्रीय संकट थियो। तत्कालीन सोभियत संघले बर्लिनमा पश्चिमा मुलुकहरूको पहुँच अवरुद्ध गरिदिएको थियो।
– सन् १९६६- बोत्स्वानालाई स्वतन्त्रता
दक्षिण अफ्रिकाको भूपरिवेष्ठित मुलुक बोत्स्वाना आजकै दिन ब्रिटेनबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रता आन्दोलनका नेता सेरेत्से खामा पछि बोत्स्वानाका प्रथम राष्ट्रपति निर्वाचित भएका थिए।
– सन् २००५- डेनिस अखबारको त्यो विवादास्पद कार्टुन
डेनमार्कको अखबार ‘जाइल्यान्ड्स-पोस्टर्न’ले प्रकाशित गरेको एक कार्टुन विश्वभर विवादास्पद बनेको थियो। पैगम्बर मोहम्मदसम्बन्धी उक्त कार्टुनको विरोधमा विश्वभरका मुसलमान प्रदर्शनमा उत्रिएका थिए। त्यसका कारण धेरै मुलुकमा दंगा भड्किएको थियो।
– सन् २०१९- ३ खर्ब १५ अर्ब टनको आइसबर्ग छुट्टियो
सन् २०१९ मा अन्टार्कटिकामा जमेको हिउँबाट ३ खर्ब १५ अर्ब टनको आइसबर्ग अलग्गिएको थियो। उक्त आइसबर्गलाई वैज्ञानिकहरूले डी-२८ नाम दिएका छन्।
– सन् २०२२- युक्रेनी प्रान्त पुटिनले गाभे रुसमा
सन् २०२२ मा आजकै दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ वटा प्रान्तलाई रुसमा गाभिएको घोषणा गरेका थिए। युक्रेनका डोनेत्स्क, खेर्सन, लुहान्स्क र जेपोरिजियालाई रुसमा गाभिएको घोषणा पुटिनले गरेका थिए। त्यसको संसारभर आलोचना भएको थियो।
– सन् २०२४- बेलायतले गर्यो कोइलाको प्रयोग अन्त्य
सन् २०२४ मा आजकै दिन बेलायतले कुनै पनि प्रयोजनमा कोइलाको प्रयोग अन्त्य गर्ने घोषणा गरेको थियो। कोइलाको प्रयोग अन्त्य गर्ने बेलायत विश्वको पहिलो ठूलो अर्थतन्त्र बनेको थियो। त्यसका लागि बेलायतले रेटक्लिफ-अन-सोअरस्थित अन्तिम कोइलामा आधारित ऊर्जा स्टेसन पनि बन्द गरेको थियो।