काठमाडौं- झापा मेचीनगरका एमाले नेता डिल्लीराम घिमिरेले २९ चैतमा आफूमाथि अन्याय भएको उल्लेख गर्दै पार्टी परित्याग गरे। ३१ वर्षसम्म एमालेमा संगठित उनले पार्टी छाड्दै गर्दा आँशु रोक्न सकेनन्।
एमाले त्यागेर उनी कुनै अर्को दलमा आबद्ध भएनन्। र, स्वतन्त्र हैसियतमा मेचीनगर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिए। मेचीनगरका निवर्तमान जनप्रतिनिधिहरू माथि भ्रष्टाचारको बात लाग्यो। नगर नेतृत्वले नै छानविनका लागि अख्तियार गुहार्नुपर्यो।
उपमेयरको उम्मेदवारका रूपमा घिमिरेले नगरलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका थिए। देशभर स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने लहर चलिरहँदा घिमिरे भने त्यो अवसरबाट बञ्चित भए।
पार्टीहरूतिरै एकोहोरिएका मतदाताले उनीतिर नजर दिन भ्याएनन्। चुनावी अभियानमा उनी आफू दौडिनुभन्दा ठाउँ-ठाउँबाट बोलाएर उनका कुरा सुनेका थिए, मतदाताले। तर, त्यो मतपेटिकासम्म पुग्न सकेन। र, उनी पराजित भए।
मतदाताले यसअघिकै उपमेयर मीना पोखरेल उप्रेतीलाई जिताए। उप्रेतीले २१ हजार ५९० मत पाउँदा माओवादी केन्द्रका प्रकाश भण्डारी १२ हजार ८१८ मा खुम्चिँदै दोस्रो बने। त्यसपछि पालो आयो, राप्रपाकी सविना बजगाईंको। उनले नौ हजार ८८० मत पाइन्।
मंगोल नेसनल अर्गनाइजेसनकी शिखा लिम्बू दुई हजार २४ मतसहित चौथो बनिन्। अनि मात्र घिमिरेको पालो आयो। पाँचौं स्थानमा उनले ११ सय ९९ मत मात्र पाए।
सरकारी जागिरमा छँदै ०३६ सालको जनमत संग्रहमा खुला रूपमै बहुदलका पक्षमा मत हालेका कारण उनको जागिर गएको थियो र १७ दिन हिरासतमा परेका थिए। हिरासतबाट भागेर बंगलादेश पुगे। त्यहाँ पनि पक्राउ परे। पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल बंगलादेशमा नेपालको राजदूत भएका बेला उनी जेलमुक्त भएर स्वदेश फर्किए।
बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचनमा उनी काँकडभिट्टा गाविसको अध्यक्ष निर्वाचित भए। ०४९ देखि ०५४ सालसम्मको उनको कार्यकालमा काँकडभिट्टाले नगरको रूप धारण गर्यो। त्यसयता निरन्तर राजनीति र सामाजिक गतिविधिमा क्रियाशील छन्। देवकोटा पार्क संरक्षण समिति अध्यक्ष, मेचीनगर नगरपालिका न्यायिक समिति अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रमा करिब १२ वर्ष अध्यक्ष, खेलकुद विकास समिति झापाका अध्यक्ष, मदन भण्डारी स्पोर्टस् एकेडेमी, झापाका अध्यक्ष, एमाले जिल्ला कमिटी सचिवालय सदस्य, पर्यटन तथा वातावरण समाजका अध्यक्ष, आदर्श समाजका अध्यक्षलगायत दर्जनौँ संघसंस्थाका नेतृत्व गरेको अनुभवी घिमिरेलाई यसपालि मतदाताले पनि न्याय दिन सकेनन्।
आफूलाई विश्वास गरेर मतदान गर्ने ११ सय ९९ जनालाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन्। र, अन्याय सहेर बाँचिरहनुभन्दा न्यायको पक्षमा संघर्ष गरेर मर्नु निको ठानेकैले आफूले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। आगामी दिनमा पनि गरिब, निमुखा, दिनदुःखीहरूको पक्षमा चल्ने बताएका छन्।