काठमाडौं- आज १३ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाका कारण यो दिनलाई संसारभर स्मरण गरिन्छ। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८९९- सवारी दुर्घटनामा मृत्यु भएको संसारकै पहिलो घटना
अमेरिकामा १२७ वर्षअघि आजकै दिन सवारी दुर्घटनामा मानिसको मृत्यु भएको पहिलो घटना रेकर्ड भएको थियो। हेनरी एच. ब्लिस नामक व्यक्तिलाई न्युयोर्कमा सडक पार गर्दै गर्दा एक ट्याक्सी क्याबले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचार क्रममा मृत्यु भएको थियो।
– सन् १९३३- न्युजिल्यान्डको संसदमा पहिलो महिला निर्वाचित
एलिजाबेथ म्याक कोम्ब्स न्युजिल्यान्डको संसदमा निर्वाचित हुने पहिलो महिला बनेकी थिइन्। आफ्ना श्रीमानको मृत्युपछि उनलाई उम्मेदवार बनाइएको थियो। न्युजिल्यान्डले सन् १८९३ मै महिलालाई मतदानको अधिकार दिएको थियो।
– सन् १९७४- द हेगमा फ्रान्सका राजदूत अपहरित
लेबनानमा गठित कम्युनिस्ट उग्रवादी समूह जापानी रेड आर्मी (जेआरए) का तीन सदस्यहरूले नेदरल्यान्ड्सको द हेगस्थित फ्रान्सको दूतावासमा आक्रमण गरेका थिए। र, फ्रान्सका राजदूतसहित १० जनालाई बन्धक बनाएका थिए। जेआरएका अर्का एक सदस्यको रिहाइ, केही नगद र एउटा जहाज दिनुपर्ने अपहरणकारीको माग पूरा गरेर बन्धक बनाइएकाहरूलाई रिहा गरिएको थियो।
– सन् १९९३- ओस्लो सम्झौतामा हस्ताक्षर
प्यालेस्टिनको अन्तरिम स्वशासन व्यवस्थाका सिद्धान्तका रूपमा समेत चिनिने ओस्लो सम्झौतामा आजकै दिन हस्ताक्षर भएको थियो। प्यालिस्टिनी राष्ट्रीय प्राधिकरण गठनका लागि सोही सम्झौताले मार्ग प्रशस्त गरेको हो। र, वेस्ट बैंक र गाजापट्टीबाट इजरायली सुरक्षा फौजलाई फिर्ता गराउने प्रस्थान विन्दु पनि ओस्लो सम्झौता नै थियो।
– सन् १९९९- मस्को विष्फोटमा मारिए ११९
सन् १९९९ मा आजकै दिन रुसको राजधानी मस्कोमा शक्तिशाली बम विष्फोट भएको थियो। त्यसमा परी ११९ जना मारिएका थिए।
– सन् २०२३- ओभरडोज महामारीको चौथो लहर
सन् २०२३ मा आजकै दिन प्रकाशित एक रिपोर्टले अमेरिकामा लागूपदार्थको ओभरडोजको महामारी चलिरहेको बताएको थियो। र, त्यसलाई ओभरडोज महामारीको चौथो लहर घोषणा गरेको थियो।
– सन् २०२५- लन्डनमा १ लाखको प्रदर्शन
सन् २०२५ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा १ लाख मानिसले प्रदर्शन गरेका थिए। टमी रबिन्सनको नेतृत्वमा भएको धुर दक्षिणपन्थीहरूको प्रदर्शनका क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट दर्जनौं प्रहरी घाइते भएका थिए।