बैङ्कक- : थाइल्यान्डको चोन्बुरी प्रान्तस्थित एक किन्डरगार्टेनमा स्थानीय प्रहरीले आफ्नै शिक्षिका पत्नीको गोली हानी हत्या गरेका छन् । घटनामा विद्यालयका ४४ जना बालबालिका सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।
बैङ्ककको दक्षिणपूर्वमा पर्ने नोङ प्ला लाई उपजिल्लामा बुधबार बिहान घटना भएको हो । बन्दुकधारी प्रहरी अधिकारी गोली चलाएपछि घर फर्किएको र प्रहरीले उनलाई आत्मसमर्पण गराउन घर घेरेर वार्ता गरिरहेको अधिकारीहरूले बताएका छन् । घटनाको कारण भने खुल्न सकेको छैन ।
उपजिल्ला परिषद्का अध्यक्ष सायन क्लोमोनका अनुसार बन्दुकधारीले बिहान करिब १०ः३० बजे विद्यालय पुगेर पत्नी शिक्षिकासँग कुराकानी गरेका थिए । त्यसपछि उनले पत्नीमाथि गोली चलाएका थिए । घटना कक्षाकोठाबाहिर भएकाले कुनै पनि बालबालिकाले प्रत्यक्ष नदेखेको र पछि सबै बालबालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
चोन्बुरीका गभर्नर नारिस निरामाइवोङले तीन शिक्षिकासहित छ कर्मचारी र ४४ जना बालबालिका सुरक्षित रहेको पुष्टि गर्नुभएको छ । उहाँले घटनापछि किन्डरगार्टेन बन्द गर्न निर्देशन दिँदै घटनाबाट प्रभावित बालबालिका तथा कर्मचारीलाई मनोवैज्ञानिक सहयोग उपलब्ध गराइने बताउनुभयो ।
थाइल्यान्डमा पछिल्लो समय गोलीकाण्डका घटना बढिरहेका छन् । एक महिनाअघि एक किशोरले आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेपछि पाँच कर्मचारी र एक विद्यार्थीमाथि गोली चलाएर आत्महत्या गरेका थिए ।
थाइल्यान्डमा बन्दुक स्वामित्वको दर उच्च रहेको मानिन्छ । बन्दुक नियन्त्रणसम्बन्धी कानून कडा पार्ने प्रतिबद्धता पटकपटक व्यक्त भए पनि यस्ता घटना रोकिएका छैनन् । सन् २०२२ मा उत्तरी थाइल्यान्डको एक नर्सरीमा पूर्वप्रहरीले बन्दुक र चक्कुसहित आक्रमण गर्दा २४ बालबालिका र १२ वयस्कको मृत्यु भएको थियो ।