घर ढलेका छन्
हिजोसम्म सँगै हाँसेका अनुहार
आज कहाँ छन्
कसैलाई थाहा छैन
बालबालिकाको
चहलपहलले गुञ्जिने आँगन
आज प्रकृतिले
आफ्नै काखमा समेटेको छ
झुला झुन्डिने डिलमा अब
बालुवा र सन्नाटा मात्रै बाँकी छन् !
घर पारिको नदी
हिजो हाम्रो साथी थियो
आज उही नदी रिसाएर
आँगनमै बसाइँ सरेर आएको छ
हिजोसम्म गरिखाने हातहरू
आज रित्ता कचौरा समातेका छन्
के खाऊँ कसरी बाँचूँ भन्ने
चिन्ताले आँसु पुछ्ने
फुर्सद पनि दिएको छैन !
ढोकामा आँखा अड्याएर
धेरै आफन्त अझै प्रतीक्षामा छन्
शायद हराएका फर्केर आउलान्
शायद त्यो आवाज फेरि सुनिएला !
बगरमुनि पुरिएका
ती शरीरहरू को हुन् ?
नाम हराएका लाशहरूले
कहिले आफ्नो परिचय पाउने हुन् ?
यो बाढीले घर मात्र ढालेन
सपना बगायो
पुस्ता बगायो
जीवित बचेकाहरूलाई
हरेक रात शोकसँगै
बाँच्न बाध्य बनायो !
हे प्रकृति
यदि तिम्रो न्याय यही हो भने
किन निर्दोष बालकको हाँसो खोस्यौ ?
किन आमाको काख रित्यायौ ?
किन एउटा गाउँलाई
जिउँदै बगरमुनि गाडिदियौ ?