काठमाडौं- आज ५ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९४४- बेनेलक्स स्थापना
बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्ग सम्मिलित उपक्षेत्रीय समन्वय (बेनेलक्स) आजकै दिन स्थापना भएको थियो। बेनेलक्समार्फत तीनवटा मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य गर्ने उद्देश्य थियो।
– सन् १९७२- म्युनिख ओलम्पिक हत्याकाण्ड
प्यालेस्टिनी आतंकवादी समूहले जर्मनीको म्युनिखस्थित अपार्टमेन्टमा आक्रमण गरेर इजरायलका दुई खेलाडीको हत्या गरी ९ जनालाई बन्धक बनाएको थियो। त्यसविरुद्ध गरिएको सुरक्षा कारवाहीमा सबै ९ बन्धक र ५ आतंककारी मारिएका थिए।
– सन् १९७७- भोयजर-१ प्रक्षेपण
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आजकै दिन भोयजर-१ प्रक्षेपण गरेको थियो। यो अन्तरिक्षमा सबैभन्दा टाढा पुगेको मानव निर्मित वस्तु हो। सन् २०२६ को हालसम्म उक्त अन्तरिक्ष यान पृथ्वीबाट २५ अर्ब किलोमिटर टाढा पुगेको छ।
– सन् १९९७- मदर टेरेसाको निधन
‘मिसनरिज अफ च्यारिटी’की संस्थापक मदर टेरेसा आजकै दिन भारतमा निधन भएको थियो। उनी तत्कालीन अटोमन साम्राज्यको अंग रहेको स्कोपिया (हालको नर्थ मेसेडोनिया)मा जन्मेकी थिइन्। १८ वर्षको उमेरमा उनी आयरल्यान्ड र त्यसपछि भारत आएकी थिइन्। भारतमै उनको अधिकतर जीवन व्यतित भएको थियो। उनको संस्थाले एचआईभी-एड्स, कुष्ठरोग र क्षयरोगविरुद्ध अभियान नै छेडेको थियो। उनलाई सन् १९६२ मा रेमोन म्यागासेसे पुरस्कार तथा १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
– सन् २००५- इन्डोनेसियामा विमान दुर्घटनामा मारिए १००
सन् २००५ मा आजकै दिन इन्डोनेसियाको सुमात्रामा मन्डला एयरलाइन्सको विमान दुर्घटनामा १०० जना मारिएका थिए। बोइङ ७३७-२०० विमान मेडान शहरबाट जकार्ताका लागि उडेको थियो। विमान उडेको केही सेकेन्डमै व्यस्त शहरी इलाकामा खसेको थियो।
– सन् २००८- हानाले लियो ५२९ को ज्यान
सन् २००८ मा हाइटीमा ट्रपिकल स्टर्म हानाका कारण भएको अविरल वर्षा र बाढीमा परी ५२९ जनाले ज्यान गुमाएका थिए। हाइटीको उत्तरी बन्दरगाह शहर गोनाइभेस बढी प्रभावित बनेको थियो।
– सन् २०२२- चेङ्दू भूकम्पमा गयो ६५ को ज्यान
सन् २०२२ मा आजकै दिन चीनको चेङ्दू (स्थानीय भाषामा छन्तू) मा गएको ६.६ रेक्टरस्केलको भूकम्पमा परी ६५ जनाको ज्यान गएको थियो। चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानको राजधानी चेङ्दू भूकम्पबाट बढी प्रभावित भएको थियो। त्यतिबेला उक्त शहर कोभिड-१९ महामारीका कारण लगाइएको लकडाउनमै थियो। त्यही बेला थप प्राकृतिक विपद आइलागेको थियो।
– सन् २०२३- ब्राजिलका ६० शहर साइक्लोनको चपेटामा
सन् २०२३ मा आजकै दिन शुरु भएको एक्स्ट्रा ट्रपिकल साइक्लोनबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलका ६० शहर अस्तव्यस्त भएका थिए। त्यस क्रममा ३१ जनाको ज्यान गएको थियो। दक्षिणी प्रान्त रियो ग्रान्ड डो सुल बढी प्रभावित भएको थियो।
– सन् २०२५- अमेरिकामा समातिए ४७५ विदेशी कामदार
अमेरिकाको जर्जियास्थित हुन्डाई प्लान्टमा गरिएको अध्यागमन छापामा ३०० दक्षिण कोरियाली कामदारहरू सहित लगभग ४७५ जनालाई हिरासतमा लिइएको थियो। यो अमेरिकी होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनको इतिहासमा हालसम्मकै ठूलो एकल-साइट गिरफ्तारी थियो।