काठमाडौँ । स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मत गणना अन्तिम चरणमा पुगेको छ । कूल एक लाख ४३ हजार २२६ मत खसेकोमध्ये एक लाख ३८ हजार २११ मत गणना सकिएको छ ।
अब पाँच हजार १५ मत गणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले पाँच हजार २८६ मतले अगाडि रहेका छन् ।
उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।
हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार १८५ मत बनाएका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेकी छन् । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।
पोखरा महानगर वडा नं २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।