ए काका,
काठमाडौंमा त
जन्मेदेखि मर्नेसम्म
करै करको खेती रहेछ !
Advertisement
हामी पनि त्यही सिक्ने हो कि बाजे ?
ठग्गाले बडका भलमन्सालाई भन्यो
अस्ति भग्गीकी नातिनी
घरमै जन्मिई
अब रसिद भिडाउनुपर्ने भो !
रामलाललाई पनि
अस्ति मात्रै सद्गत गरियो
अब चिहानको धुलो नसुक्दै
मृत्यु सेवा शुल्कको बिल भिडाउनुपर्ने भो !
बडका भलमन्सा मुसुक्क हाँसे
अनि भने- भतिज,
अझै पैसा उठाउने
धेरै सम्भावना बाँकी छ !
सास फेर्यो भने हावा उपयोग कर
घाम ताप्यो भने सौर्य सेवा शुल्क
पानी पियो भने जीवन उपयोग दस्तुर
अनि मर्नुभन्दा पहिले
अन्तिम यात्रा अनुमति शुल्क !
ठग्गाले टाउको कन्यायो र भन्यो-
काका, एउटा समिति बनाऊँ
कुन-कुन ठाउँमा अरू कर कसरी लगाउने ?
त्यसपछि साँडेपानीको
विकासलाई कसले छुने
हामी पनि हेरौंला !