काठमाडौं- आज १२ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९२०- मस्को शान्ति सन्धिमा हस्ताक्षर
सन् १९२० मा आजकै दिन मस्को शान्ति सन्धिमा हस्ताक्षर भएको थियो। तत्कालीन सोभियत संघ र लिथुवानियाबीच उक्त सन्धि भएको थियो। उक्त सन्धिले लिथुवानियाको तटस्थता र सोभियत सेनालाई पोल्यान्ड पुग्ने मार्ग तय गरेको थियो।
– सन् १९७५- साओ टोमे एन्ड प्रिन्सिपलाई स्वतन्त्रता
अफ्रिकाको टापु मुलुक साओ टोमे एन्ड प्रिन्सिपले आजकै दिन पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो। उक्त टापु मुलुक १६ औं शताब्दीमा पोर्चुगिजहरूले नै पत्ता लगाएका थिए। र, त्यसयता निरन्तर पोर्चुगलको अधीनमा थियो। पोर्चुगिजहरूले त्यहाँ २०० वर्षभन्दा बढी समय दास बनाइएका स्थानीय बासिन्दालाई उखु, कफी र कोकोवाको उत्पादनमा लगाएका थिए। दासत्वबाट मुक्तिपछि उक्त टापु मुलुकको पहिलो राष्ट्रपति म्यानुएल पिन्टो डा कोस्टा बनेका थिए।
– सन् २०१८- चीनको फ्याक्ट्री विष्फोटमा मारिए १९
सन् २०१८ मा आजकै दिन चीनको एक रसायन प्लान्ट विष्फोटमा १९ जनाको ज्यान गएको थियो। सिचुवान प्रान्तको जियांगन काउन्टीमा उक्त घटना भएको थियो।
– सन् २०१८- संसारकै लामो नङ काटियो
सन् २०१८ मा आजकै दिन त्यतिबेलाको संसारकै लामो मानिएको नङ काटिएको थियो। भारतीय नागरिक श्रीधर चिल्लालले ६६ वर्षसम्म पालेर बायाँ हातको औंलामा हुर्केको नङ काटेका थिए। त्यतिबेला उनको नङ ९०९.२ सेन्टिमिटर लामो थियो।
– सन् २०२१- आगलागीमा मारिए कोभिडका बिरामी
सन् २०२१ मा आजकै दिन कोभिड-१९ महामारीको उपचारका लागि अस्पतालमा राखिएका बिरामीको आगलागीमा परी ज्यान गएको थियो। इराकको नासिरिया शहरस्थित अस्पतालमा उक्त घटना भएको थियो।
– सन् २०२५- न्यू क्यालेडोनियालाई बनाइयो फ्रान्सको प्रान्त
सन् २०२५ मा आजकै दिन क्यू क्यालेडोनियालाई फ्रान्सको एक राज्य बनाइएको थियो। अस्ट्रेलियाबाट १२ सय किलोमिटर पूर्वमा पर्ने यो टापुलाई आधिकारिक रूपमा फ्रान्सको एक राज्य बनाइएको हो। लामो समयदेखि यो फ्रान्सको ओभरसिज टेरिटोरी रहँदै आएको छ।