काठमाडौं- आज ७ जुलाई। विश्व इतिहासका अनगिन्ती घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९४७- अमेरिकामा देखियो उडन तस्तरी
सन् १९४७ मा आजकै दिन अमेरिकाको न्यु मेक्सिकोस्थित रोजवेल नजिक उडन तस्तरी देखिएको थियो। रोजवेल नजिकको खेतमा एक रहस्यमय वस्तु दुर्घटनामा परेको थियो। उक्त वस्तु बाह्य अन्तरिक्षबाट आएको हुन सक्ने अनुमान गरिएको थियो। तथापि, त्यसबारे पर्याप्त कुनै प्रमाण फेला पर्न सकेन। रोजवेलले भने उडन तस्तरी देखिएको ठाउँका रूपमा संसारभर ख्याति कमायो।
– सन् १९८५- बोरिस बेकर बने विम्बल्डन जित्ने सबैभन्दा कान्छा खेलाडी
सन् १९८५ मा आजकै दिन १७ वर्षीय बोरिस बेकरले विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड राखेका थिए। जर्मनीका टेनिस खेलाडी उनले अमेरिकाका केभिन करेनलाई पराजित गरेका थिए।
– सन् २००५- लन्डनमा शृंखलाबद्ध बम आक्रमण, ५२ मारिए
सन् २००५ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा शृंखलाबद्ध बम विष्फोटहरू गराइएका थिए। ती विष्फोटहरूमा परी ५२ जना मारिएका थिए भने अन्य ७०० जना घाइते भएका थिए। बिहानीपखको व्यस्त समयमा सार्वजनिक यातायातका साधनहरूमा ती विष्फोट गराइएका थिए।
– सन् २०२०- कोभिड प्रसारमा भारतले उछिन्यो रुसलाई
सन् २०२० मा संसाभर फैलिएको कोभिड-१९ महामारीमा आजकै दिन भारतले रुसलाई सर्वाधिक प्रसारका लागि उछिनेको थियो। र, विश्वको तेस्रो सर्वाधिक प्रभावित मुलुक बनेको थियो। कुल ७ लाख जना कोभिड-१९ प्रभावित रहँदा दैनिक केस २० हजार नाघेको थियो।
– सन् २०२१- संसारकै ठूलो बालुवाको महल
सन् २०२१ मा आजकै दिन डेनमार्कको ब्लोखसमा संसारकै ठूलो बालुवाको महल तयार भएको थियो। २१.१६ फिट अग्लो उक्त महलका लागि ५ हजार टन बालुवा प्रयोग भएको थियो।
– सन् २०२३- विश्वको पहिलो मानव-रोबोट प्रेस कन्फरेन्स
सन् २०२३ मा आजकै दिन विश्वमै पहिलोपटक मानव-रोबोट प्रेस कन्फरेन्स आयोजना गरिएको थियो। स्विट्जरल्यान्डको जेनेभामा आयोजित कन्फरेन्समा रिपोर्टरहरूले रोबोटलाई सोधेका थिए, ‘के तिमीले मनुष्यविरुद्ध विद्रोह गर्नेछौ ?’
– सन् २०२३- अमेरिकाले नष्ट गर्यो अन्तिम रासायनिक हतियार
अमेरिकाले आजकै दिन आफूसँग रहेको अन्तिम रासायनिक हतियार नष्ट गरेको थियो। केन्टुकीको पूर्वी क्षेत्रमा उक्त हतियार नष्ट गरिएको थियो। अन्तर्राष्ट्रीय रासायनिक हतियार महासन्धिको एक हिस्साको रूपमा अमेरिकाले उक्त निर्णय लिइएको थियो। प्रथम विश्वयुद्धमा रासायनिक हतियारहरूको व्यापक प्रयोग गरिएको थियो।
– सन् २०२४- एकै दिन ३० लाख हवाई यात्री
अमेरिकाको इतिहासमै पहिलोपटक एकै दिन ३० लाख मानिसले हवाई यात्रा गरेको रेकर्ड सार्वजनिक भएको थियो। अमेरिकामा हवाई यात्रीको संख्या पछिल्ला दिनमा अत्यधिक बढेको परिणाम थियो त्यो।
– सन् २०२४- अमेरिकाको पश्चिमी क्षेत्रमा हिट वेभ
सन् २०२४ मा यही समयमा अमेरिकाको पश्चिमी क्षेत्र हिट वेभबाट नराम्ररी प्रभावित भएको थियो। लस भेगासमा हालसम्मकै सर्वाधिक ४८.८८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।