बडा परेशान छन् रे कमरेड,
क्रान्तिको महान छलाङ हान्न खोज्दा
भित्तामा ठोक्किएर थला परेका छन् !
गुहार लगाएका छन्,
कोही सुन्ने भए पो !
हिजो जनताको सागर उम्लिन्छ भन्थे
आज आफ्नै बैठकमा
कुर्सीहरू खाली देखेर उदास छन् !
अहिले फेरि झापालीबा समेतका
सबैलाई जम्मा गरी
हाम्रो पसल बन्द भएको छैन है
देखाउँदै छन् !
कुनै बेला क्रान्तिको गर्जन गर्नेहरू
आज मान्छे खोज्दै
घरदैलो धाउँदै छन् !
हिजो अरूलाई पुँजीवादी भन्दै
औँला ठड्याउनेहरू
आज पुँजीवादकै डुंगाम चढेर
किनारा खोज्दै छन् !
पसलका ग्राहक हराएपछि
फोन गरी खोज्दै छ्न्
जसलाई प्रतिक्रियावादी भन्थे,
आज उनैसँग गठबन्धनको
गणित मिलाउँदै छन्
र, भन्दै छ्न्-
क्रान्ति मरेको छैन
अलिकति बिरामी मात्र भएको हो
कमरेटको बिजोग देखेर
बडका भलमन्साले भने
भतिज,
क्रान्तिको पसल खोल्न सजिलो रहेछ
तर, विश्वास गुमेपछि
बन्द भएको छैन भनेर
बोर्ड समातेर बस्नुभन्दा
ठूलो पीडा अरू केही रहेनछ !