काठमाडौं- आज १ जुलाई। विश्व इतिहासका अनेकन घटनाले आजको दिनको स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९०८- एसओएस बन्यो अन्तर्राष्ट्रीय संकट संकेत
सन् १९०८ मा आजकै दिन एसओएसलाई अन्तर्राष्ट्रीय संकट संकेत तय गरिएको थियो। अन्तर्राष्ट्रीय रेडियोटेलीग्राफिक कन्भेन्सनमार्फत उक्त संकेत तय गरिएको थियो। कन्भेन्सनमाथि सन् १९०६ मा हस्ताक्षर भएको थियो। ‘सेभ आवर सोल्स’ पूरा नाम रहेको एसओएस आज पनि सार्वभौम रूपमा संकटको बलियो संकेत हो।
– सन् १९६३- जिपकोडको शुरुवात
सन् १९६३ मा आजकै दिन जिप कोडको शुरुवात भएको थियो। अमेरिकी हुलाक सेवाले पहिलोपटक यसको प्रयोग गरेको थियो। यसको फुलफर्म ‘जोन इम्प्रुभमेन्ट प्लान कोड’ हो।
– सन् १९७९- बिक्रीमा राखियो वाकम्यान
सन् १९७९ मा आजकै दिन वाकम्यान पहिलोपटक बिक्रीमा ल्याइएको थियो। उक्त पोर्टेबल अडियो क्यासेट प्लेयर जापानी कम्पनी सोनीले निर्माण गरेको थियो। डिजिटल प्रविधिको विकाससँगै वाकम्यान असान्दर्भिक हुन पुग्यो। र, अहिले यो बजारमा देख्न पाइँदैन।
– सन् १९९१- वार्सा सन्धि भंग
विश्वमा शीतयुद्ध जारी रहँदा ८ वटा वामपन्थी मुलुक मिलेर पोल्यान्डको राजधानी वार्सामा सन् १९५५ मा ‘वार्सा सन्धि संगठन’ स्थापना गरेका थिए। तर, बर्लिनको पर्खाल ढलेसँगै पूर्वी जर्मनीको पतन र सोभियत संघको विघटनसँगै वार्सा सन्धि संगठन औचित्यहीन हुन पुगेको थियो। यो खासमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)विरुद्ध खडा भएको संगठन थियो। र, सन् १९९१ मा आजकै दिन वार्सा सन्धि संगठन भंग भएको घोषणा गरिएको थियो।
– सन् २००२- अन्तर्राष्ट्रीय फौजदारी अदालत स्थापना
सन् २००२ मा आजकै दिन अन्तर्राष्ट्रीय फौजदारी अदालत (आईसीसी) स्थापना भएको थियो। नरसंहार, मानवताविरुद्धका अपराध र युद्ध अपराधमा मुद्दा चलाउने अधिकार भएको यो पहिलो अन्तर्राष्ट्रीय अदालत हो। रोम विधानअन्तर्गत यसको स्थापना भएको हो। रोम विधान सन् १९९८ मा इटालीको राजधानी रोममा हस्ताक्षर भएको थियो।
– सन् २००२- दुई जहाज ठोक्किँदा मारिए ७१ जना
सन् २००२ मा आजकै दिन जर्मनीको दक्षिणी शहर उबरलिंगेनको आकाशमा दुई जहाज ठोक्किँदा ७१ जनाको ज्यान गएको थियो। बास्किरियन एयरलाइन्सको टुपोलेभ-१५४ र जर्मनीको कार्गो सेवा डीएचएलको बोइङ-७५८ जहाज आकाशमा ठोक्किएका थिए।
– सन् २०१६- बंगलादेशमा आतंकवादी आक्रमण
सन् २०१६ मा आजकै दिन बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमण भएको थियो। मुस्लिम लडाकुहरूले गरेको आक्रमणमा परी २० जना बन्धक र २ प्रहरी मारिएका थिए।
– सन् २०१८- शिख समुदायमाथि आत्मघाति विष्फोट
सन् २०१८ मा आजकै दिन अफगानिस्तानमा शिख समुदायलाई लक्षित गर्दै आत्मघाति बम विष्फोट गराइएको थियो। जलालाबादमा भएको उक्त आक्रमणमा १९ जना मारिएका थिए।
– सन् २०२३- ब्रह्माण्डको थ्रीडी म्याप बनाउन टेलिस्कोप प्रक्षेपण
सन् २०२३ मा आजकै दिन ब्रह्माण्डको थ्रीडी म्याप बनाउन युक्लिड नामक टेलिस्कोप प्रक्षेपण गरिएको थियो। केप केनाभरेलबाट प्रक्षेपण गरिएको उक्त टेलिस्कोपलाई डार्क म्याटर र डार्क इनर्जीको खोजी गर्ने जिम्मेवारी दिइएको थियो।
- सन् २०२४- ५ सय पुस्ता १२ हजार वर्षको रिवाज
सन् २०२४ मा अस्ट्रेलियाको भिक्टोरियास्थित क्लग्स केभको गुफामा आदिवासीको हालसम्मकै पुरानो रिवाज उत्खनन् गरिएको थियो। उक्त रिवाज ५०० पुस्तादेखि चलिरहेको र १२ हजार वर्ष पुरानो रहेको पुरातत्त्वविद्हरूले बताएका थिए। यो सांस्कृतिक रिवाज अद्यापि निरन्तर चलिरहेको छ।
– सन् २०२५- फ्रान्समा धुम्रपानमाथि चौतर्फी प्रतिबन्ध
सन् २०२५ मा आजकै दिन फ्रान्सले बालबालिकाको उपस्थिति रहने सबै प्रकारका सार्वजनिक स्थलहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाएको थियो। पार्कहरू, समुद्री बिचहरू, सार्वजनिक उद्यान, बस स्टपहरू, विद्यालय क्षेत्र र खेल गतिविधि हुने स्थानहरूमा उक्त प्रतिबन्ध अद्यापि कायम छ।
– सन् २०२५- अमेरिकामा इतिहासकै ठूलो ठगी
अमेरिकामा आजकै दिन इतिहासकै ठूलो हेल्थ केयर ठगी सार्वजनिक भएको थियो। त्यसमा संलग्न देखिएका ९३ जना चिकित्सक र मेडिकल प्रोफेसनलहरू सहित ३२४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। उक्त ठगीका कारण १४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको स्वास्थ्य कार्यक्रम रोक्नुपरेको थियो।