काठमाडौं- आज २६ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९३६- विश्वमै पहिलोपटक हेलिकोप्टर अभ्यास उडान
सन् १९३६ मा आजकै दिन पहिलोपटक हेलिकोप्टरको अभ्यास उडान भएको थियो। ट्विन-रोटर फोक-वुल्फ ‘एफडब्लू-६१’लाई पहिलोपटक जर्मनीको ब्रेमेनमा परीक्षण गरिएको थियो।
– सन् १९४५- संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर
सन् १९४५ मा आजकै दिन संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर भएको थियो। विश्वका अधिकांश मुलुक अहिले राष्ट्र संघको सदस्य बनेका छन्।
– सन् २०१३- उत्तराखण्डको हेलिकोप्टर दुर्घटनामा २० मारिए
सन् २०१३ मा आजकै दिन भारत उत्तराखण्डमा भएको हेलिकोप्टर दुर्घटनामा २० जनाको ज्यान गएको थियो। उत्तराखण्ड बाढीपछि उद्धारका लागि गएको भारतीय वायु सेनाको ‘एमआई-१७ भी-५’ हेलिकोप्टर दुर्घटनामा परेको थियो।
– सन् २०१८- महिलाका लागि भारत सबैभन्दा खतरनाक देश
सन् २०१८ मा आजकै दिन एक अन्तर्राष्ट्रीय संस्थाले महिलाका लागि भारत सबैभन्दा खतरनाक देश भएको घोषणा गरेको थियो। यौन दुर्व्यवहार र श्रम दासीका रूपमा भारतमा अत्यधिक महिला पीडित बनेको उल्लेख गर्दै थोम्सन रोयटर्स फाउन्डेसनले उक्त घोषणा गरेको थियो।
– सन् २०१९- मलेसियामा बरामद गरियो ५ हजार कछुवा
सन् २०१९ मा आजकै दिन मलेसियाको राजधानी क्वालालम्पुरमा ५ हजार कछुवा बरामद गरिएको थियो। ती कछुवा भारतबाट तस्करी गरेर मलेसिया पुर्याइएको थियो।
– सन् २०२१- सहकर्मीलाई किस गरेका बेलायती मन्त्री पदमुक्त
सन् २०२१ मा आजकै दिन बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले राजीनामा दिएका थिए। आफ्नी एक सहकर्मीलाई म्वाईं खाएको तस्बिर सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। कोभिड-१९ महामारीका कारण लागू गरिएको सामाजिक दूरीको नियम उल्लंघन गर्दै उनले सार्वजनिक स्थलमा सहकर्मीलाई किस गरेका थिए।
– सन् २०२३- उरुग्वेमा पानी संकटकाल
सन् २०२३ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक उरुग्वेमा पानी संकटकाल घोषणा गरिएको थियो। खासगरी, राजधानी मोन्टेभिडियोले जटिल जल संकट सामना गर्नुपरेको थियो। पानी संकटबाट बाहिर निस्किन सरकारले समुद्रको पानीलाई मिश्रण गरेर स्थानीय बासिन्दालाई वितरण गर्नुपरेको थियो।
– सन् २०२४- होन्डुरसका राष्ट्रपतिलाई अमेरिकामा जेल
सन् २०२४ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक होन्डुरसका पूर्व राष्ट्रपति हुँवा ओर्ल्यान्डो हर्नेन्डेजलाई अमेरिकामा ४५ वर्षको जेल सजायँ सुनाइएको थियो। लागूऔषध तस्करी गराएको आरोपमा उनलाई अमेरिकी अदालतले ८० लाख अमेरिकी डलर जरिवाना पनि तिराएको थियो।
– सन् २०२५- अमेरिकामा खस्यो धर्तिभन्दा ४.५६ अर्ब वर्ष पुरानो उल्कापिण्ड
सन् २०२५ मा आजकै दिन अमेरिकाको जर्जियामा एक उल्कापिण्ड खसेको थियो। एक घरको छतमा खसेको उक्त उल्कापिण्ड पृथ्वीभन्दा ४.५६ अर्ब वर्ष पुरानो रहेको अनुसन्धानबाट खुलेको थियो।