काठमाडौं- आज २४ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्व इतिहासका केही चर्चित घटनाको सारसंक्षेप।
– सन् १९०१- पाब्लो पिकासोको पहिलो प्रदर्शनी
विश्वविख्यात स्पेनिस कलाकार पाब्लो पिकासोले आजकै दिन पहिलो एकल प्रदर्शनी गरेका थिए। त्यतिबेला उनी १८ वर्षका मात्र थिए। फ्रान्सको राजधानी पेरिसस्थित एम्ब्रोइज भोलाडर्ड्स ग्यालरीमा प्रदर्शनी आयोजना गरिएको थियो। त्यतिबेला उनको कला प्रदर्शनी अवलोकन गर्न आएका समीक्षकहरूले पिकासोका कामहरूका बारेमा धेरै सोचेनन्। तथापि, भविष्यमा उनी विश्वविख्यात कलाकार बने।
– सन् १९४७- अमेरिकाको आकाशमा देखिए उडन तस्तरी
सन् १९४७ मा आजकै दिन अमेरिकाको राजधानी वासिङ्टन नजिकको माउन्ट रेनियरमाथि रहस्यमय उड्डयन गतिविधि देखिएको थियो। अमेरिकी व्यवसायी केनेथ अर्नोल्डले प्लेटजस्ता स-साना वस्तु उडिरहेको देखेका थिए। त्यसलाई ‘अनआइडेन्टिफाइड फ्लाङ अब्जेक्ट (यूएफओ)’ को पहिलो आधुनिक दृष्य मानियो। र, सोही समयदेखि त्यस्ता वस्तुलाई उडन तस्तरी नाम दिइयो।
– सन् १९८२- ब्रिटिस जम्बोजेट बच्यो दुर्घटनाबाट
सन् १९८२ मा आजकै दिन ब्रिटिस एयरवेजको बोइङ-७४७ विमान भयानक दुर्घटनाबाट बचेको थियो। विमानका चारवटै इन्जिन पूर्ण रूपमा फेल भएका थिए। माउन्ट ग्यालुङगङमा भएको ज्वालामुखी विष्फोटका कारण त्यसको ठ्याक्कै माथिबाट उडिरहेको विमानका इन्जिन पूर्ण रूपमा बन्द भए। तर, चालक दलका सदस्यहरूले चारवटै इन्जिन पुनः चलाउन सफलता पाए। र, विमान इन्डोनेसियाको राजधानी जाकार्ता विमानस्थलमा आकस्मिक अवतरण गराइयो।
– सन् २००२- तान्जानियाको भिषण रेल दुर्घटनामा २८१ को मृत्यु
अफ्रिकी मुलुक तान्जानियामा सन् २००२ मा भएको भिषण रेल दुर्घटनामा २८१ यात्रीले ज्यान गुमाएका थिए। रेलमा करिब १२ सय यात्री सवार थिए। ब्रेक फेल भएका कारण मसगाली नामक स्थान नजिक उक्त यात्रीवाहक रेल लिकबाट बाहिरिएर खोंचमा खसेको थियो।
– सन् २०१७- सर्वाधिक उचाइको फुटबल म्याच
सन् २०१७ मा आजकै दिन संसारकै हालसम्मको सर्वाधिक उचाइको महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। १८ हजार ७९९ फिटस्थित माउन्ट किलिमन्जोरोमा उक्त प्रतियोगिता आयोजना भएको थियो। माउन्ट किलिमन्जोर अफ्रिका महादेशको सर्वोच्च शिखर हो। र, यो तान्जानियामा पर्छ। उक्त प्रतियोगिता महिलाहरूको अन्तर्राष्ट्रीय फुटबल टिमले आयोजना गरेको थियो।
– सन् २०१९- रहस्यमय रोगबाट भारतमा १५२ बालबालिकाको मृत्यु
सन् २०१९ मा रहस्यमय रोगका कारण भारतको मुजफ्फरपुरमा १५२ बालबालिकाको ज्यान गएको थियो। रोगबाट ७१८ जना प्रभावित भएका थिए। त्यो कुन रोग थियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।
– सन् २०२१- अमेरिकामा आवासीय टावर ढल्दा १५६ मारिए
अमेरिकाको मियामी बिचस्थित सर्फसाइडमा आवासीय टावर ढल्दा १५६ जनाको ज्यान गएको थियो। तीमध्ये ९८ जनाको शव भग्नावशेषबाट निकाल्न सफलता मिल्यो। बाँकी ५८ जनालाई बेपत्ता घोषित गरियो। च्याम्पलेन टावर्सको दक्षिणी टावर राति डेढ बजे ढलेको थियो। त्यसमा सुतिरहेका मानिस त्यसमा पुरिएका थिए।
– सन् २०२४- अमेरिकामा विनाशकारी बाढी
सन् २०२४ मा अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा विनाशकारी बाढी आएको थियो। त्यसबाट मिनेसोटा, आयोबा, साउथ डकोटा र नेब्रास्का राज्यहरू प्रभावित भएका थिए।