काठमाडौं- आज २३ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८९४- अन्तर्राष्ट्रीय ओलम्पिक कमिटी स्थापना
सन् १८९४ मा आजकै दिन अन्तर्राष्ट्रीय ओलम्पिक कमिटी (आईओसी) स्थापना भएको थियो। आईओसी ओलम्पिक खेलहरूको मूल आयोजक हो। फ्रान्सेली शिक्षाविद पियरे डे कोबर्टिनको पहलमा आईओसी स्थापना भएको हो।
– सन् १९७४- अन्तरिक्षमा पहिलो मानव सन्देश
सन् १९७४ मा आजकै दिन अन्तरिक्षमा पहिलोपटक मानवको सन्देश पठाइएको थियो। ‘एरेसिबो’ नाम दिइएको उक्त सन्देश प्युर्टोरिकोमा एरेसिबो रेडियो दुरबिनको उत्सव मनाउने क्रममा पठाइएको थियो। खासमा त्यो एक छोटो रेडियो सन्देश थियो।
– सन् १९९२- इजरायलमा यित्ज्याक रबिनको पार्टीको विजय
सन् १९९२ मा आजकै दिन इजरायलमा यित्ज्याक रबिनको लेबर पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको थियो। आम निर्वाचनलगत्तै रबिन इजरायलमा प्रधानमन्त्री बनेका थिए। उनले संघर्षरत प्यालेस्टिन लिबरेसन अर्गानाइजेसन (पीएलओ)सँग शान्ति सम्झौता गरेका थिए। सोही सम्झौताका कारण रबिन र पीएलओ नेता यासेर अराफातलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। त्यसको एक वर्षपछि एक यहुदी अतिवादीले गोली प्रहार गरी उनको हत्या गरेका थिए।
– सन् २०१६- युरोपियन युनियनबाट बाहिरिन बेलायतमा मतदान
सन् २०१६ मा आजकै दिन बेलायतमा युरोपियन युनियनबाट बाहिरिने निर्णय (ब्रेक्जिट)का लागि मतदान गराइएको थियो। त्यसमा आधाभन्दा बढी मतदाताले युरोपियन युनियनबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका थिए। सोही कारण बेलायतले ब्रेक्जिटमा जाने निर्णय लिएको थियो। बेलायत सन् १९७३ देखि ईयू सदस्य राष्ट्र बनेको थियो।
– सन् २०२०- नक्कली लाइसेन्सधारी १२५ पाइलट ग्राउन्डेड
पाकिस्तानमा आजकै दिन १२५ जना पाइलटलाई ग्राउन्डेड गरिएको थियो। परीक्षामा चिट चोरेर तथा नक्कली लाइसेन्स लिएर पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका विमान उडाइरहेका उनीहरूलाई एक साथ ग्राउन्डेड गरिएको थियो।
– सन् २०२४- गर्मीमा १३ सय हाजीको मृत्यु
सन् २०२४ मा साउदी अरेबियामा हज गर्न गएका १ हजार ३०० मुस्लिम धर्मावलम्बीको अत्यधिक गर्मीका कारण ज्यान गएको थियो। त्यस वर्ष साउदी अरेबियामा ४६ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड भएको थियो। त्यस वर्ष संसारभरका १८ लाख ३० हजार धर्मावलम्बीले हज गरेका थिए।
– सन् २०२४- रुसमा मुस्लिम आतंकवादी आक्रमण
सन् २०२४ मा आजकै दिन रुसमा मुस्लिम अतिवादी समूहले आतंकवादी आक्रमण गरेको थियो। रुसको दागेस्तानमा प्रहरी चौकीहरू, चर्चहरू र एक प्रार्थना हलमा एकसाथ आक्रमण गरिएको थियो। त्यसमा परी २० जनाको ज्यान गएको थियो।
– सन् २०२५- थाइल्यान्डमा एकैपटक ९ करोड डलरको लागूऔषध बरामद
सन् २०२५ मा आजकै दिन थाइल्यान्डमा एकै स्थानबाट ९ करोड ८ लाख अमेरिकी डलर बराबरको लागूऔषधि बरामद भएको थियो। मकैको पीठोका नाममा लुकाएर राखिएको अवस्थामा मेथामफेटामाइन नामक लागूऔषध बरामद भएको थियो। बरामद गरिएको लागूऔषधको परिमाण २.४ मेट्रिक टन थियो।