काठमाडौं- आज २२ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन सम्झना गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९४१- सोभियत संघमाथि जर्मनीको हमला
सन् १९४१ मा आजकै दिन जर्मनीले तत्कालीन सोभियत संघमाथि आक्रमण गरेको थियो। शुरुमा सफल देखिएको आक्रमणपछि जर्मनीका लागि महँगो सावित भएको थियो। किनकि, भयंकर ठण्डीका कारण सोभियत संघको प्रतिरोधमा जर्मनीको ठूलो नोक्सानी भयो। र, अन्ततः जर्मनी पछाडि हट्नुपर्यो।
– सन् १९८६- डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’
सन् १९८६ मा आजकै दिन विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाका फुटबल स्टार डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ शब्दावली प्रयोग गरेका थिए, जुन विश्वव्यापी लोकप्रिय भएको थियो। म्याराडोनाले हातमार्फत गरेको गोललाई रेफ्रीले मान्यता दिएका थिए। र, अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो। खेलपछि उनले भनेका थिए, ‘यो गोल थोरै म्याराडोना र थोरै भगवानको हातबाट भएको थियो।’
– सन् १९९०- चेकपोइन्ट ‘चार्ली’लाई गरियो ध्वस्त
तत्कालीन पूर्वी र पश्चिमी बर्लिनबीच सेक्टर सीमामा क्रसिङ पोइन्ट सन् १९८९ मा बर्लिनको पर्खाल ढलेसँगै असान्दर्भिक भएको थियो। सोही कारण सन् १९९० मा आजकै दिन उक्त चेक पोइन्ट ध्वस्त बनाइएको थियो। अहिले उक्त चेक पोइन्ट पर्यटकहरू माझ आकर्षणको केन्द्र बनेको छ।
– सन् २००२- इरान भूकम्पमा मारिए २६१ जना
सन् २००२ मा आजकै दिन इरानमा गएको शक्तिशाली भूकम्पमा परी २६१ जनाको ज्यान गएको थियो। ६.५ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु इरानको पश्चिमी क्षेत्रमा रेकर्ड भएको थियो।
– सन् २०२२- ओराङगुटानले घाउ निको पार्न जडिबुटी लिने गरेको पुष्टि
सन् २०२२ मा इन्डोनेसियाको सुमात्रामा बाँदरको एक प्रजाति ओराङगुटानले घाउ निको पार्न जंगली जडिबुटीको उपयोग गर्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका थिए। घाँटीमा भएको घाउ निको पार्न ओराङगुटानले जंगली जडिबुटी लिँदै गरेको वैज्ञानिकहरूले फेला पारेका थिए।
– सन् २०२२- अफगान भूकम्पमा गयो १ हजारको ज्यान
सन् २०२२ मा आजकै दिन अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १ हजार जनाले ज्यान गुमाएका थिए। ६.१ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दक्षिण-पूर्वी खोस्ट क्षेत्रमा रेकर्ड गरिएको थियो। त्यसमा परी १५ सयभन्दा बढी घाइते भएका थिए।
– सन् २०२३- बेइजिङमा ६२ वर्षयताकै गर्मी
सन् २०२३ मा आजकै दिन चीनको राजधानी बेइजिङमा ६२ वर्ष अर्थात् सन् १९६१ यताकै सर्वाधिक गर्मी रेकर्ड भएको थियो। यस दिन बेइजिङको तापक्रम ४१.१ डिग्री सेल्सियस रेकर्ड भएको थियो।
– सन् २०२३- टाइटानिक हेर्न गएको पनडुब्बी फेला, सबै यात्रीको मृत्यु
समुद्रमा डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष अवलोकनका लागि निस्किएका पर्यटक सवार पनडुब्बी आजकै दिन दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। त्यसमा सवार सबै ५ जना यात्रीहरूको मृत्यु भएको थियो। टाइटानिकको भग्नावशेष नजिक उक्त पनडुब्बी विष्फोट भएको थियो।
– सन् २०२५- इरानमाथि इजरायली आक्रमणमा अमेरिका पनि सहभागी
इजरायलले इरानमाथि शुरु गरेको हवाई हमलामा आजकै दिन अमेरिका पनि सहभागी भएको थियो। इजरायलले इरानी न्युक्लियर सुविधाविरुद्ध आक्रमण थालेको थियो। त्यसमा सामेल हुँदै अमेरिकाले इरानका तीनवटा स्थानमा हमला गरेको थियो। त्यस क्रममा बंकर बम र घातक मिसाइलहरू प्रयोग गरिएको थियो।