कैलाली- कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी निवासी २४ वर्षीय शाहिल खान रहेका छन्। उनी धनगढी उपमहानगरपालिका–५ तारानगर क्षेत्रमा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले खानको डेरामा खानतलासी गर्दा कटुवा पेस्तोल, डिजिटल तराजु, फलामको रड, रेन्च तथा चाँदीका गरगहना लगायतका सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार खान रातिको समयमा घरमा कोही नभएको अवसर पारेर चोरी गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा निगरानीमा रहेका थिए। पक्राउपछि विभिन्न चोरी घटनाका पीडित तथा घरधनीहरू जिल्ला प्रहरी कार्यालय पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले खानको संलग्नता अन्य आपराधिक घटनाहरूमा समेत हुन सक्ने आशंकामा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। अनुसन्धानबाट थप तथ्यहरू सार्वजनिक हुने प्रहरीले बताएको छ।