काठमाडौं- आज १० जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९०७- अटोक्रोम लुमिरे कलर फोटोग्राफी
सन् १९०७ मा आजकै दिन अटोक्रोम लुमिरे कलर फोटोग्राफी सार्वजनिक गरिएको थियो। उक्त फोटोग्राफी सन् १९०३ मा लुमिरे ब्रदर्सले आविष्कार गरेका थिए। रंगिन फोटोग्राफीमा यो पहिलो व्यावसायिक र व्यावहारिक प्रविधि थियो।
– सन् १९३५- अल्कोहलविरुद्ध लड्ने संस्थाको स्थापना
सन् १९३५ मा आजकै दिन संसारभर अल्कोहल प्रयोगविरुद्ध लड्न ‘अल्कोहलिक्स एनोनिमस’ नामक संगठन स्थापना भएको थियो। अमेरिकाका बिल विल्सन र डा. बब स्मिथले उक्त संगठन स्थापना गरेका हुन्। उक्त संगठनले मदिराको बिक्री-वितरण र सेवनविरुद्ध लड्न आपसी सहायता फेलोसिप प्रदान गर्दै आएको छ। अहिले यो संगठन संसारका धेरै मुलुकमा सक्रिय छ।
– सन् १९३६- रुसी एनिमेसन स्टुडियो ‘सोयुजमुल्टफिल्म’को स्थापना
सन् १९३६ मा आजकै दिन रुसमा ‘सोयुजमुल्टफिल्म’ नामक एनिमेसन स्टुडियो स्थापना भएको थियो। उक्त स्टुडियोले कुल १ हजार ५३० वटा फिल्म बनायो। त्यसमा सोभियत संघ कालका सबैभन्दा प्रसिद्ध फिल्महरू पनि थिए।
– सन् १९६७- ५ दिने लडाईं अन्त्य
सन् १९६७ मा आजकै दिन मध्यपूर्वको ६ दिने युद्ध अन्त्य भएको थियो। संयुक्त राष्ट्र संघले मध्यस्थता गरेपछि इजरायल र सिरियाबीच युद्धविराम सहमति भएको थियो। त्यसको अघिल्लो दिन गोलान हाइट्स क्षेत्रमा कब्जा जमाएको थियो।
– सन् १७७२- रोड आइल्यान्डवासीले डुबाइदिए ब्रिटिस जहाज
अमेरिकी उपनिवेशमा रहनेवाला रोड आइल्यान्डवासीले सन् १७७२ मा आजकै दिन ब्रिटिस राजस्व कटर पानीजहाज ‘गेस्पी’माथि चढेर त्यसलाई नारागान्सेट खाडीमा डुबाइदिएका थिए।
– सन् १९९९- कोसोभो युद्ध अन्त्य
सन् सन् १९९० मा आजकै दिन कोसोभोमा जारी युद्ध अन्त्य भएको थियो। सर्बियाका तत्कालीन राष्ट्रपति स्लोबोदान मिलोसेभिकले नेटोले ठूलो परिमाणमा बमबारी अभियान सञ्चालन गरेपछि विवादित क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउन सहमति जनाएका थिए।
– सन् २०१९- भ्रष्टाचार मुद्दामा समातिए पाकिस्तानका पूर्व राष्ट्रपति
सन् २०१९ मा आजकै दिन पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए। उनी पाकिस्तानमा १४ औं राष्ट्रपति थिए। र, पूर्व प्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टोका श्रीमान हुन्।
– सन् २०१९- ९०० वर्षदेखि अंगुरबाट वाइन
सन् २०१९ मा आजकै दिन वैज्ञानिकहरूले ९०० वर्षदेखि अंगुरबाट वाइन बनाइने गरेको खुलासा गरेका थिए। फ्रान्सिसी मदिरा ‘सभाग्निन ब्ल्यांक’का लागि अंगुरको प्रयोग हुने गरेको खुलासा भएको थियो। त्यसका लागि वैज्ञानिकहरूले अंगुरको डीएनए परीक्षण गरेका थिए। उक्त खुलासा ‘नेचर प्लान्ट्स’मा प्रकाशित एक रिपोर्टमार्फत भएको थियो।
– सन् २०२१- इथियोपियामा अनिकाल
सन् २०२१ मा आजकै दिन संयुक्त राष्ट्र संघले अफ्रिकी मुलुक इथियोपियामा अनिकाल घोषणा गरेको थियो। इथियोपियाको उत्तरी भूभागस्थित टिग्रे क्षेत्रमा अनिकालबाट साढे ३ लाख जनसंख्या अति प्रभावित भएको राष्ट्र संघले बताएको थियो। र, त्यसलाई संसारको सबैभन्दा खराब भोकमरी घोषणा गरिएको थियो।
– सन् २०२४- एप्पलमा एआई
सन् २०२४ मा आजकै दिन विश्व प्रसिद्ध कम्पनी एप्पलले आफ्ना उत्पादनहरूमा जेनेरेटिभ एआई प्रविधि प्रयोग गर्ने घोषणा गरेको थियो। आफ्ना डिभाइसहरू र सिरीको अपडेटमा एआई प्रयोग गर्ने घोषणा कम्पनीको थियो। ओपन एआईसँग साझेदारीमा एप्पलले उक्त परियोजना शुरु गरेको थियो।