काठमाडौं- आज ७ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्व चर्चित केही घटनाको सारसंक्षेप।
– सन् १९२९- स्वतन्त्र मुलुक बन्यो भ्याटिकन सिटी
सन् १९२९ मा आजकै दिन भ्याटिकन सिटी स्वतन्त्र मुलुक बनेको थियो। इटालीको फासिवादी सरकारले ल्याटेरन सन्धि अनुमोदन गरेपछि भ्याटिकनले स्वतन्त्रता पाएको थियो।
– सन् १९६८- विश्वको पहिलो लेगोल्यान्ड रिसोर्ट खुला
सन् १९६८ मा आजकै दिन विश्वको पहिलो लेगोल्यान्ड रिसोर्ट खुलेको थियो। डेनमार्कको बिलुन्डमा खुलेको उक्त रिसोर्ट लेगो इन्टरलकिङ प्लास्टिक इँटाहरूमा आधारित ६ थिम पार्कमध्ये एउटा थियो। लेगो ग्रुपको हेडक्वार्टर पनि बिलुन्डमै छ।
– सन् १९७५- पहिलो क्रिकेट विश्वकप शुरु
विश्वकप क्रिकेटको पहिलो सिरिज आजकै दिन शुरु भएको थियो। क्रिकेटको पहिलो विश्वकपको आतिथ्य इंग्ल्यान्डले गरेको थियो। यो अहिले विश्वको सर्वाधिक महत्त्वपूर्ण खेल इभेन्ट बनेको छ। पहिलो विश्वकप क्रिकेट च्याम्पियनको उपाधि वेस्ट इन्डिजले जितेको थियो।
– सन् १९८१- इराकको परमाणु रियाक्टर इजरायलद्वारा ध्वस्त
सन् १९८१ मा आजकै दिन इजरायलले इराकको परमाणु रियाक्टर ध्वस्त बनाएको थियो। सम्भावित इराकी परमाणु बमको भयका कारण इजरायलले उक्त आक्रमण गरेको थियो। सोही कारण अरब मुलुकहरू इजरायलविरुद्ध खडा भएका थिए।
– सन् १९८९- सुरिनाम विमान दुर्घटनामा १७६ को मृत्यु
दक्षिण अमेरिका महादेशको उत्तरपूर्वी तटीय मुलुक सुरिनाममा आजकै दिन भएको विमान दुर्घटनामा १७६ जनाको ज्यान गएको थियो। राजधानी पारामारिबोस्थित विमानस्थलमा अवतरणका क्रममा ‘डीसी-८-६२’ विमान दुर्घटनामा परेको थियो। उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट सुरिनाम पुगेको थियो। गलत नेभिगेसन सिग्नलमा विमान अवतरण गराउन खोज्दा दुर्घटना भएको थियो।
– सन् २०१७- ३ लाख वर्ष पुरानो होमो सेपियन्सको अवशेष फेला
पुरातत्वविदहरूले अफ्रिकी मुलुक मोरक्कोमा ३ लाख वर्ष पुरानो होमो सेपियन्सको अवशेष फेला पारेका थिए। ‘नेचर’मा प्रकाशित रिपोर्टअनुसार त्यो हालसम्म फेला परेको होमो सेपियन्सको सबैभन्दा पुरानो अवशेष हो।
– सन् २०१९- ४० लाख भेनेजुएलीले छाडे देश
सन् २०१९ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका ४० लाख मानिसले देश छाडेको तथ्यांक सार्वजनिक भएको थियो। सन् २०१५ देखि जारी आर्थिक संकटका कारण त्यति ठूलो संख्यामा नागरिकले भेनेजुएला छाडेको संयुक्त राष्ट्र संघले उल्लेख गरेको थियो।
– सन् २०२१- पाकिस्तानमा रेल जुध्दा ४० मारिए
सन् २०२१ मा पाकिस्तानमा दुई रेल आपसमा जुध्दा तिनमा सवार ४० जनाको मृत्यु भएको थियो। पाकिस्तानको सिन्ध प्रान्तमा उक्त घटना भएको थियो।
– सन् २०२१- २४ हजार वर्ष पुरानो जीवलाई पुनर्जीवन
सन् २०२१ मा वैज्ञानिकहरूले २४ हजार वर्षदेखि हिउँमा जमेको बहुकोशिकीय जीव बेडेलोइड रोटिफायरलाई पुनः जीवित गरेका थिए। रुसको साइबेरियामा हिउँमा कठ्यांग्रिएर मरेको उक्त जीवलाई पुनर्जीवन दिएका थिए।
– सन् २०२३- क्यानाडाको डढेलोले अमेरिकामा अन्धकार
सन् २०२३ मा क्यानाडाको जंगलमा सल्केको डढेलोको प्रभाव अमेरिकाको उत्तरी क्षेत्रमा व्यापक परेको थियो। न्युयोर्कसहितका अमेरिकाको उत्तरी भेगको वायुको गुणस्तर ह्वात्तै घटेको थियो। र, धुवाँ फैलिएको थियो।
– सन् २०२४- एम्मी जित्ने बूढा कलाकार
सन् २०२४ मा आजकै दिन डेटाइम एम्मी अवार्ड हालसम्मकै वृद्ध कलाकारले जितेका थिए। ९८ वर्षीय कलाकार तथा कमेडियन डिक भान डाइकले उक्त अवार्ड हात पारेका थिए। उनी ‘डेज अफ लाइभ्स’ मा अतिथि भूमिकामा देखिएका थिए।
– सन् २०२५- दंगा दबाउन २ हजार नेसनल गार्ड परिचालन
सन् २०२५ मा अमेरिकाको लस एन्जलस र आसपासको क्षेत्रमा अध्यागमन र भन्सारमा गरिएको कडाइविरुद्ध दंगा फैलिएको थिए। उक्त दंगा दबाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार नेसनल गार्ड खटाएका थिए।