काठमाडौं- आज ३ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १४९२- विश्वको पहिलो ग्लोब सार्वजनिक
५३२ वर्षअघि आजकै दिन विश्वको पहिलो ग्लोब सार्वजनिक गरिएको थियो। जर्मनीका भूगोलवेत्ता मार्टिन बेहेमले आफ्नो टेरेस्ट्रायल ग्लोब ‘एर्डेपफेल’ सार्वजनिक गरेका थिए। जर्मन भाषामा ‘एर्डेपफेल’को अर्थ एप्पल हुन्छ। जर्मनीको नुरेमबर्गस्थित जर्मनीस्चेस नेसनल म्युजियमको डार्करुममा त्यसलाई देखाइएको थियो।
– सन् १९७३- विश्वको पहिलो सुपरसोनिक विमान दुर्घटना
सन् १९७३ मा आजकै दिन विश्वको पहिलो सुपरसोनिक विमान दुर्घटनामा परेको थियो। तत्कालीन सोभियत संघले बनाएको ‘टुपोलेभ टीयू-१४४’ विमान दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। उक्त विमानलाई कनकर्डस्की उपनाम दिइएको थियो। पेरिस एयर सोका दौरान विमान दुर्घटनामा परेको थियो।
– सन् १९८२- इजरायली राजदूतमाथि गोली
सन् १९८२ मा आजकै दिन बेलायतका लागि इजरायली राजदूत स्लोमो अर्गोभमाथि गोली प्रहार भएको थियो। उनीमाथि प्यालेस्टिनी आतंकवादी समूहले गोली प्रहार गरेको थियो। घटनामा उनी बाँचे तर जीवनभर पक्षघातको शिकार भए। उक्त घटनाले सन् १९८२ को लेबनान युद्धलाई जन्म दिएको थियो।
– सन् १९८९- तियानमेन स्क्वायरमा सेनाको निर्मम दमन
सन् १९८९ मा आजकै दिन चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा चिनियाँ जनमुक्ति सेनाले लोकतन्त्र समर्थकहरूको प्रदर्शनका निर्मम दमन गरेको थियो। १ लाखभन्दा बढी लोकतन्त्र समर्थकहरूलाई तितरबितर पार्न सेना उतारिएको थियो। घटनामा सयौं प्रजातन्त्रवादीहरूको हत्या गरिएको थियो। घटनामा कतिजना मारिए भन्ने तथ्य कहिल्यै सार्वजनिक भएन।
– सन् १९९८- जर्मन रेल दुर्घटनामा गयो १०१ को ज्यान
सन् १९९८ मा आजकै दिन जर्मनीको इन्सेडेमा भएको हाइस्पिड रेल दुर्घटनामा १०१ जनाको ज्यान गएको थियो। २०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको रेल लिकबाट बाहिरिँदा उक्त दुर्घटना भएको थियो। उक्त रेल हानोभरबाट ह्यामबर्ग जाँदै थियो। रेलको एक चक्का चर्किएका कारण रेल दुर्घटनामा परेको थियो।
– सन् २०१२- नाइजेरिया विमान दुर्घटनामा मारिए १५२
सन् २०१२ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा भएको विमान दुर्घटनामा १५२ जना मारिएका थिए। मारिनेमा ४० जना जमिनमा रहेका व्यक्तिहरू थिए। दाना एयरको म्याकडोनेल डगलस एमडी-८३ विमान दुवै इन्जिन फेल भएका कारण जमिनमा बजारिएको थियो। उक्त विमान अबुजाबाट लागोस विमानस्थलतर्फ जाँदै थियो।
– सन् २०१३- कुखुरा फर्म आगलागीमा परी ११९ को मृत्यु
सन् २०१३ मा आजकै दिन चीनको जिलिन प्रान्तस्थित कुखुरा फर्ममा भएको आगलागीमा परी ११९ जनाको ज्यान गएको थियो।
– सन् २०१८- ग्वाटेमालामा ज्वालामुखी विष्फोटमा ११० को मृत्यु
सन् २०१८ मा आजकै दिन मध्य अमेरिकी मुलुक ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा ११० जनाको ज्यान गएको थियो। त्यसमा परी बेपत्ता ३३२ जना कहिल्यै भेटिएनन्। ग्वाटेमालाको फ्युगोमा ज्वालामुखी विष्फोट भएको थियो।
– सन् २०१९- क्यानाडामा १ हजारको हत्या
पछिल्ला दशकमा क्यानाडामा १ हजार महिला र बालिकाहरूको हत्या गरिएको खुलासा भएको थियो। त्यसलाई सरकारले राष्ट्रीय नरसंहार संज्ञा दिएको थियो।
– सन् २०१९- सुडानी सेनाद्वारा १०० जनाको हत्या
सन् २०१९ मा आजकै दिन सुडानको सेनाले शान्तिपूर्ण प्रदर्शन गरिरहेका १०० जनाको हत्या गरेको थियो। उनीहरूमध्ये धेरैलाई नाइल नदी किनारमा गाडिएको थियो। उक्त घटनाको अन्तर्राष्ट्रीय स्तरमा विरोध भएको थियो।
– सन् २०२१- नासाले पठायो स्क्विड र सूक्ष्म जीवलाई अन्तरिक्षमा
सन् २०२१ मा आजकै दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा उडानका प्रभावमाथि अध्ययनका लागि शिशु स्क्विड र सूक्ष्म जीवहरूलाई यानमा राखेर पठाएको थियो। स्पेस एक्सको फाल्कन-९ रकेटमार्फत १२८ शिशु स्क्विेड र ५ हजार सूक्ष्म जीवलाई अन्तर्राष्ट्रीय स्पेस स्टेसन (आईएसएस)मा पठाइएको थियो।