कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको बिहीबार स्थलगत निरीक्षण गरेका छन ।
कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गतका यी बाँधहरू लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले हजारौं किसान प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। टेढी सिँचाइ आयोजनाबाट पालिकाका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषक लाभान्वित हुँदै आएका थिए।
तर, २०६४ सालमा आएको बाढीले बाँधमा ठूलो क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण अधुरै रहँदा किसानहरू वर्षौंदेखि सिँचाइ समस्याबाट पीडित छन्।
निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित क्षेत्रका किसानलाई राहत पुर्याउन तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । उनले जनताको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको समेत बताए ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरी का अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भएमा हजारौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्। उनले करिब ९५ प्रतिशत जनता कृषिमा निर्भर रहेको उल्लेख गर्दै हाल किसानहरू वर्षाको पानीमा मात्र निर्भर हुन बाध्य भएको बताए ।
“सिँचाइ अभावका कारण किसानहरूले चैते धान खेती गर्न सकिरहेका छैनन्,” अध्यक्ष चौधरीले भने, “महँगो मूल्यमा डिजेल किनेर पानी तान्नुपर्ने बाध्यता अहिले पनि कायमै छ।”
निरीक्षण कार्यक्रममा राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।